महासमिति बैठक सर्यो भने पार्टी नै खतरामा पर्छ – डा कोइराला

प्रकाशित मिति:

कात्तिक २५ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अब पनि पार्टीको महासमिति बैठक सर्ने हो भने सिंगो पार्टी नै खतरामा पर्ने जिकिर गरेका छन् ।

कांग्रेस महासमिति बैठक फेरि एक पटक सरेर मंसिर २८ गते गर्ने भनिएको छ । त्यो मिति पनि सर्यो भने सिंगो पार्टीलाई नै कमजोर बनाउने डा कोइरालाको भनाइ छ ।

उनले विधानमै महासमिति बैठक गर्नु जरुरी रहेकाले निरन्तर सर्दै जाने हो भने त्यसले घाटामात्र हुनेछ भने ।

महासमिति बैठक एक वर्ष सारियो भने सभापति त रहँदैन नै काँग्रेससमेत नरहने खतरा भएको उनको भनाइ छ ।

डा कोइरालाले विधानलाई राम्रो बनाउनेबारे अहिलेसम्म राम्ररी बहस नै हुन नसकेको भन्दै संस्थापन र गुटउपगुट अनावश्यक तरिकाले अगाडि बढेको बताएका छन् ।

उनले संस्थापन पक्ष पदाधिकारी नबढाउने र इतर पक्ष बढाउनु पर्छ भनेर सुरक्षित हुन खोजेको मात्र बताए ।

तर उनले संस्थापनले पदाधिकारी नबढाउने भन्नु हाँस्यास्पद रहेको भन्दै थपे, ‘संस्थापन पक्षले नै पदाधिकारी बढाइरहेको छ । दुई जना उपसभापति बनाइसकेको छ । अब संस्थापनले पदाधिकारी बढाउन पाइँदैन भन्न त मिलेन ।’

उनले विजयकुमार गच्छदारलाई उपसभापति बनाइनु नौलो नभएको पनि बताए । उनले भने, ‘पार्टी मर्ज हुँदा गच्छदारलाई उपसभापति बनाउने सहमति शेरबहादुर देउवाले गरेकाले अहिले गर्नु नौलो नभएको तर एक वर्ष ढिला गर्नु दुर्भाग्य हो ।’