हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अस्पतालको शिलन्यास गरिएको छ । २०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोनन्ती गरी १५ शैयाको अस्पताल बनाउन थालिएको हो । १४ कठ््ठा क्षेत्रफलमा बन्ने उक्त अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले बिहीबार शिलान्याश गरेका छन् । अस्पताल बनाउन १८ करोड लागत अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा अस्पताललाई एक करोड रुपैयां वजेट तिलोत्तमा नगरपालिकालाई निकासा भइसकेको छ । हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध हुने छ । अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले तिलोत्तमा नगरपालिका मुलुकमै व्यवस्थित शहरको रुपमा अघि बढेको बताउँदै अस्पताल निर्माणमा वजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमाकै सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नति गराउन पहल भएको बताए । उनले प्रादेशिक बसपार्क, सिटी कलेज, सिँचाई नहर र सडक निर्माणमा समेत यथोचित बजेट व्यवस्था गर्न अर्थमन्त्रीसंग आग्रह गरे । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो तिलोत्तमा नगरपालिकाकै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्डेन्ट,मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित २८ जनाको सरकारी दरबन्दी हुने स्वास्थ्य चौकी ईञ्चार्ज ज्ञान प्रसाद पौडेलले बताए ।
जग्गादाता वझा परिवारलाई सम्मान
अस्पताल निर्माणका लागि १४ कठ्ठा जग्गा दान गर्ने बागलुङ, बुटवल र काठमाडौंका वझा परिवारलाई सम्मान गरिएको छ । अस्पताल स्थापनाको लागि बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जीवनप्रसाद वझा तथा चिकित्सक डा. सरोज वझा लगायत दाजुभाइको परिवारले १४ कठ््ठा जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । बागलुङ बजारका स्वर्गीय गोपालप्रसाद वझा, स्वर्गीय अमृतप्रसाद वझा र स्वर्गीय शम्भुप्रसाद वझाले स्वास्थ्यचौकीलाई २०४० सालमा १० कठ्ठा जग्गा दिएका थिए । हाल अस्पताल स्तरोन्नति गर्नुपर्ने भएपछि जीवनप्रसाद र डा. सरोज वझाले अन्य दाजुभाइहरुलाई आग्रह गरेर सहमत गराई करोडौं मूल्य पर्ने चार कठ्ठा जग्गा पुनः निःशुल्क उपलब्ध गराएका हुन् । बागलुङबाट बुटवल र काठमाडौं बसाइ सरेर बस्दै आएका बुटवलका जीवन प्रसाद वझा, कल्याण प्रसाद ओझा र नारायणप्रसाद ओझालाई अर्थमन्त्री पौडेलले अस्पताल शिलान्याशका अवसरमा दोसल्ला र कदर पत्रले सम्मान गरेका हुन् । २०४० सालमा आफ्नै परिवारकी माइली आमाको क्यान्सर रोगका कारण उपचार नपाई ज्यान गएको घटनाले आफ्नो परिवारमा ठूलो पीडा भएकाले उपचारको अभावमा कसैको मृत्यु नहोस् भनेर जग्गा दान दिइएको जग्गादाता जीवन वझाले बताए ।