नेपाली काङ्ग्रेस नवलपरासीमा भाँडभैलो, खनाललाई १ र कंडेललाई ५ बर्ष कारवाही
प्रकाशित मिति:
प्रकाश न्यौपाने
असार २७ गते
नवलपरासी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालमाथि पार्टीको केन्द्रीय अनुशासन समितिबाट कारबाही गरेपछि खनालको पक्षमा कर्याकर्ताले परासीमा जुलुस निकालेका छ्न । केन्द्रले खनाललाई कार्वाही गरेपछि जिल्ला कार्यसमितिले केन्द्रिय सदस्य देबेन्द्रराज कंडेललाई कर्वाहि गरेको छ । खनाललाई केन्द्रले एक बर्ष र कंडेललाई जिल्लाले पाँच बर्षका लागी कार्वाही गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीलाई प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोपमा चौधरीकै उजुरीका आधारमा महामन्त्री खनालमाथि कारबाही गरिएको हो । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले पनि उक्त कारबाहीमा प्रतिशोधपूर्वक भूमिका खेलेको भन्दै खनाल पक्षधर नेता–कार्यकर्ताले कारबाही तत्काल फुकुवा गर्न माग गरेका छन् ।
दोस्रो पक्षका चौधरी–कँडेल समूह भने कारबाही स्वाभाविक भएको दाबी गर्दै सामाजिक सञ्जालमा त्यसको पक्षमा स्टाटस पोष्ट गरिरहेका छन् । अनुशासन समितिका सदस्य सञ्जय गौतम र राजीव कोइरालाले भने उक्त कारबाही पार्टी विधान विपरीत भएको भन्दै सिफारिसमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
अनुशासन समितिले असार २५ गते कारबाही गरेसँगै जिल्ला कार्यसमितिले खनाल पक्षमा निर्णय लिँदै केन्द्रीय सदस्य कँडेललाई पाँच वर्षका लागि जिल्लाबाट निष्कासन गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति विक्रम यादवको अध्यक्षतामा बसेको बैठकले निष्कासनको पत्र केन्द्रमा पठाएको जिल्ला प्रवक्ता राधेश्याम पाठकले बताउनु भयो ।
कारबाहीको विषयमा केन्द्रीय समितिको बैठकमा सांसद चौधरी र नेता शेखर कोइरालाबीच समेत भनाभन भएको स्रोत बताउँछ । खनाल शेखर कोइराला समूहका नजिक मानिन्छन् भने चौधरी र कँडेल प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन् ।
महामन्त्री खनालले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै दुई पटक पत्रकार सम्मेलन गरेका छन् । ‘४० वर्षदेखि कांग्रेसमा लागेका कार्यकर्तामाथि हुकुमी शैलीमा कारबाही भयो,’ खनालले बर्दघाटमा पत्रकार सम्मेलनमा भने, ‘प्रतिशोधपूर्ण निर्णयको सामना गर्न म तयार छु । अब म कार्यकर्ता र जनतामाझ जान्छु ।’
यसैबीच शुक्रबार खनाल पक्षधर नेता–कार्यकर्ताले परासीमा विरोध जुलुस निकाली कारबाही फिर्ता लिन माग गरेका छन् । खनाल पक्षका नेताले केन्द्रिय अनुसासन समितिले विद्यान बिपरित पुर्वाग्रह राखेर कार्वाही गरीएको उल्लेख गरेका छ्न । “कंडेल जिले अहिले सम्म आफुलाइ बाहेक अर्को कङ्ग्रेसको उम्मेदवारलाई भोट नै हाल्नु भएको छैन । अहिले गएको स्थानीय निर्वाचनमा समेत सरावल, रामग्राममा पार्टीका आधिकारिक उम्मेदवारलाइ हराउन लाग्नु भएको सबै प्रमाणहरु जिल्ला हुदै केन्द्र सम्म पठाएकोमा किन कार्वाही भएन ? प्रश्न गर्दै पाठकले भन्नू भयो । विधि बिधान अनुसार पार्टी चल्नु पर्छ, पार्टीमा अनुसासन कायम गर्ने समितीले नै विद्यान बिपरित काम गरेको आरोप प्रवक्ता पाठकको छ ।
केन्द्रिय सदस्य कँडेलले भने कारबाही प्रमाणसहित उजुरीका आधारमा भएको दाबी गरेका छन् । ‘चौधरीलाई हराउन गरेको असहयोगको अडियो, भिडियो प्रमाणसहित उजुरी परेपछि अनुशासन समितिले कारबाही गरेको हो,’ कँडेलले भने, ‘गल्ती गर्ने सिपाहीलाई एसपीले कारबाही गर्दा उल्टो एसपीलाई सिपाहीले कारबाही गरेको भन्न मिल्दैन । पार्टीमा अनुशासन बाहिर जानेलाई कारबाही हुन्छ ।’
जिल्लामा खनाल र कँडेल समूहबीच विगतदेखि नै खटपट रहँदै आएको छ । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा एकअर्कालाई हराउन दुवै समूहले भूमिका खेलेको भन्दै पटक–पटक केन्द्रमा उजुरी परेका थिए । तर एक पक्षका नेतामाथि मात्र कारबाही हुँदा कार्यकर्ताहरू थप असन्तुष्ट बनेका छन् ।










