एनआरएनए अध्यक्षतर्फ चन्द्रा अधिकारीको उत्साहजनक यात्रा

प्रकाशित मिति:

स्याङ्जा जिल्ला चापाकोट–८ शाखरमा जन्मेकी चन्द्रा अधिकारीले आफ्नो जीवनलाई सामाजिक सेवामा समर्पित गर्दै, हाल क्यानाडामा बसेर नेपाली समुदाय संगै अन्तर्राष्ट्रिय समाजसेवीको पहिचान बनाएकी छन्। स्नातकोत्तर शिक्षा प्राप्त गरेपछि सन् २०१८ मा क्यानाडा प्रवेश गरेकी चन्द्रा अधिकारी हाल एनआरएनए क्यानाडा को आगामी अध्यक्ष पदका लागि उम्मेदवार बनेकी छन् । उनको उम्मेदवारीले क्यानाडा मात्र नभई विश्वभरिका नेपाली समुदायमा चासो बढाएको छ। उनी महिला भए पनि आफूलाई महिलार पुरुष बीचको विभाजनभन्दा माथि राखेर दुवैको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको भन्दै कर्म मार्फत त्यो प्रमाणित गरिसकेको बताउँछिन्। अहिले एनआरएनए क्यानाडा अध्यक्ष पदमा उनका शुभचिन्तकहरूको व्यापक समर्थन र उत्साह देखिन थालेको छ। आगामी जुलाई २० तारिखमा हुने निर्वाचनका लागि उनी पूर्ण रूपमा तयार छिन्।

कोभिड–१९ महामारी सुरु हुँदा चन्द्राले क्यानाडामा रहेका नेपाली विद्यार्थी र समुदायलाई खाद्यान्न, स्वास्थ्य सामग्री र अन्य राहत सहयोग पुर्‍याउन ज्यानको प्रवाह नगरी अग्रपंक्तिमा काम गरिन्। त्यतिबेला केही क्यानेडियन क्षेत्रहरूमा बाहिरी आगन्तुकलाई प्रतिरोध गरिए पनि उनले हार मानिनन् र नेपाली विद्यार्थीहरूको लागि सहयोग पुर्‍याएरै छाडिन्। यसअघि, नेपालमा २०७२ सालको विनाशकारी भूकम्पको समयमा पनि उनले राहत सामाग्री, खाद्यान्न र श्रमदान गरी सामाजिक साहसको उदाहरण प्रस्तुत गरिसकेकी थिइन्। क्यानाडा पुगेपछि पनि उनको सेवाको जोश झन् बढ्दै गयो। नियमित जागिरसँगै उनले सयौं नेपाली विद्यार्थीका लागि आवास, रोजगार र मानसिक स्वास्थ्य सहयोगमा महत्त्वपूर्ण भूमिका खेलिन्। सन् २०२३ मा उनले एनआरएनए क्यानाडाको महासचिव पदमा अत्यधिक मतसहित विजय हासिल गरिन् र टिम अध्यक्ष माधव दुलालसँग मिलेर प्रभावकारी नेतृत्व देखाइन्। क्यानाडाको इतिहासमै पहिलो महिला महासचिव बनेकी उनी, अब पहिलो महिला अध्यक्ष बन्ने दिशामा अघि बढेकी छन्। क्यानाडाको विभिन्न शहरमा दुर्घटनाबाट मृत्यु भएका नेपालीहरूको शव व्यवस्थापनदेखि अध्ययन र कामको चापका कारण मानसिक रूपमा पिडित नेपालीलाई सहयोग पुर्‍याउने, ट्राभल डकुमेन्ट तयार पारेर नेपाल फर्काउने जिम्मेवारी समेत उनले बहन गरेकी छन्। समाजसेवामा सक्रिय रहँदै, क्यानाडा सरकारसँग नजिकको सम्बन्ध बनाएर नेपाली समुदायको आवाज सरकारसम्म पुर्‍याउने प्रयासमा उनी निरन्तर लागिपरेकी छन्।

उनको लक्ष्य भनेको नेपाली समाजका समस्या समाधान गर्न नेपाल सरकार र क्यानाडा सरकारबीच पुलको भूमिका खेल्ने, नेपालमा लगानी भित्र्याउने, नेपाल(क्यानाडा व्यापार प्रवर्द्धन गर्ने, क्यानाडामा नेपाली सामुदायिक केन्द्र स्थापना गर्ने र युवा उद्यमीहरूको विकास गर्नु हो। दुई उच्च सरकारी सम्मान प्राप्त गरिसकेकी उनले सामाजिक उत्तरदायित्वलाई व्यक्तिगत सफलताभन्दा माथि राखेकी छन्। श्रीमान् र दुई सन्तानसहित क्यानाडामा बस्दै आएकी चन्द्रा अधिकारी सामाजिक सेवा र उत्तरदायित्वका निम्ति यो निर्वाचनमा उभिएकी हुन्। महिला भएर पनि जुनसुकै समय सेवा र सहानुभूतिको भावनाले भरिपूर्ण उनी, घरेलु हिंसा, लैंगिक विभेद, आपसी कलह र सामुदायिक समस्याहरू समाधानमा कुशलताका साथ क्रियाशील रहिएकी छिन्।