नेमकिपाको पुस्तक प्रदर्शनी भैरहवामा,आइतवार पाल्पा प्रदर्शनी गर्दै

प्रकाशित मिति:

३० माघ,भैरहवा- नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थपना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी,रुपन्देहीले शुक्रबार सिद्धार्थनगर, भैरहवाको मिलन चोकमा पुस्तक प्रदर्शनी गरेको छ। पुस्तक प्रदर्शनीमा नेपाल मजदुर किसान पार्टीको मुखपत्र मजदुर किसान, श्रमिक साप्ताहिक लगायत पार्टी र जनवर्गीय संगठनहरू प्रकाशन राखिएका थिए ।
प्रदर्शनीमा भैरहवाका साहित्यकार, पत्रकार, मजदुर, किसान, विद्यार्थी, व्यवसायीहरूले अभिरूचीपूर्वक अवलोकन गरेका थिए ।

बिशेष गरेर भैरहवामा भएको पुस्तक प्रदर्शनीमा पनि हरि बहादुर श्रेष्ठद्वारा लिखित जेलका चिट्ठीहरु,भाइबहिनीहरुलाई चिट्ठी,हजुर बुवाको चिट्ठी,मजदुर किसान,क्रिस हानी,रोहितसंग गरिएको अन्तरवार्ताहरुको संगालो लगायतका पुस्तकहरु अभिरुचीका साथ अवलोकन र बिक्री भएको नेपाल मजदुर किसान पार्टीका प्रल्हाद डुम्रेले जानकारी दिएका छन।
शासक दलहरु जनताले तिरेको करबाट संकलित राज्यको ढुकुटीमा बुर्कुसी मारेर एकले अर्कालाई सत्तोसराप गर्दै शक्ती प्रदर्शन गरिहेको बेला नेपाल मजदुर किसान पार्टीले आफ्नो पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर देशभर पार्टी र जन वर्गिय संगठनहरुबाट प्रकाशित बिभिन्न बिचार प्रधान पुस्तक तथा लेख रचनाहरुको संगालोहरुलाई पुस्तक प्रदर्शनीको रुपमा प्रदर्शन गरेर जनताको चेतनास्तर बृद्धि गर्नमा लागि परिरहेको डुम्रेले बताए।

देशको समसायिक राजनीतिक स्थिति र नेमकिपाको दृष्टिकोणबारे अन्तरक्रियात्मक छलफल समेत भएको पुस्तक प्रदर्शनीमा जनताको राजनीतिक चेतनास्तर उठाउने उद्देश्यका साथ नेमकिपाले प्रचारात्मक पुस्तक प्रदर्शनी गर्नु प्रशंसनीय रहेको भैरहवावासीहरूले प्रतिक्रिया दिएका छन् ।यस्तै पार्टी स्थापनाकै सन्दर्भ पारेर कला र सांस्कृतिक रुपले सामरिक स्थलको रुपमा रहेको पाल्पा जिल्लाको तानसेनमा समेत फागुन २ गते आइतवार पुस्तक प्रदर्शनी गर्ने नेमकिपाले जनाएको छ।