४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद, आइतबार नेपाल पुग्ने

प्रकाशित मिति:

काठमाडौँ — भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर सेन्ट्रल जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना दीपक जैसी आज शनिबार जेलबाट छुटेका छन् । ४० वर्षदेखि भारतीय जेलमा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । उनी आइतबार नेपाल पुग्ने छन् ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए । उनका भाइ प्रकाशचन्द्र दुर्गाप्रसादलाई लिन दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अदालतले जेल पठाए पछि त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो । दुर्गाका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने छ ।