परासी । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र शसस्त्र प्रहरीबीच झडप हुँदा घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभरको उपचारका क्रममा मृत्यु भएको हो । घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्याइएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टीबाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५–७ जनाको समूहमा जान आएका व्यक्तिहरूसँग शसस्त्र प्रहरीको भनाभन भएको थियो ।पछि उनीहरूले गाउँबाट ५०–६० जनाको समूह बोलाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।
भिड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरिए पनि नियन्त्रण नभएर आक्रामक हुँदै र्गपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो । भिडको आक्रमणबाट नाकामा खटिएका सशस्त्र नायब निरक्षक सई शंकर बुढाथोकी घाइते भएका भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । जिल्लामा निषेधाज्ञालाई थप कडाइ गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर, पनि स्थानीय नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।












