१६ कार्तिक,कञ्चन- राष्ट्रिय जडिबुटीको समुचित प्रयोग गरौं ुभन्ने नारा सहति कञ्चनमा राष्ट्रिय आरोग्यता दिवस तथा धनवन्तरी जयन्तीको अवसरमा धनवन्तरीको पुजा गरिएको छ। रुद्रपुर आयुर्बेद औषधालय,कञ्चन ३ रुपन्देहीले भगवान विष्णुको अवतार तथा धन्वन्तरि पूर्वीय चिकित्सा जगतका एक सूत्राधार र हिन्दू धर्ममा देव पद प्राप्त एक चिकित्सकको रुपमा लिइने आरोग्यताको प्रतिक धनवन्तरीको पुजा गरि राष्ट्रिय आरोग्यता दिवस समेत मनाईएको हो ।
कञ्चन गाउपालिकाको आयोजना रहेको उक्त धनवन्तरी जयन्तीको अवसरमा शुभकामना ब्यक्त गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले नियमित योगाभ्यासले मात्र जिवनमा आरोगयता प्राप्त हुने र आरोग्यता प्राप्त ब्यक्तिहरुमा सकारात्मक सोंच हुने उल्लेख गर्नु भयो । देव असुर संग्राममा राक्षसबाट पीडित भएका देवतालाई जोगाउनको लागि एक चिकित्सकको रुपमा उदाएका धनवन्तरीको स्मरणले मानव रुपी दानविय प्रबृत्तिको अन्त्य हुने बिश्वास गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष क्षेत्रीले कञ्चनमा जडिबुटी खेतीमा आर्षित गर्न गाउपालिकाले प्रोत्साहन स्वरुप बजेट ब्यबस्थापन गर्ने बताउनु भयो ।कञ्चनको बिकासमा कञ्चनवासीको महत्वपुर्ण सहयोग र साथ भएका कारण अन्य स्थानिय तहहरु भन्दा बिकासका गतिले तिब्रता लिईरहेको बताउदै कञ्चनमा पर्यटन प्रबद्र्धन गर्न आवस्यक बजेट ब्यबस्थापन गरिएको अध्यक्ष क्षेत्रीले जानकारी गराउनु भयो । अध्यक्ष क्षेत्रीले दिर्घ जिवन र रोगहरुलाई जरै देखि निराकरण गरी आरोग्यता प्राप्त गर्न जडिबुटीहरुको नियमित उपयोग गर्नु पर्ने समेत बताउनु भयो ।यसैगरी आयुर्बेद र धनवन्तरी जयन्तीका बारेमा जानकारी गराउदै पण्डित नरनाथ पौडेलले धन्वन्तरि आयुर्वेदका प्रणेता भएको बताउनु भयो । प्राचीनकालमा देवता र असुरहरुको युद्धमा धेरै हताहत भएपछि सयौं असुरहरुले पुनर्जीवन प्राप्त गरेपछि हजारौं देवताहरुको बध हुन थालेको र धन्वन्तरिको जन्म भएको कुरा पुराणहरुमा उल्लेख गरिएको बताउदै पण्डित पौडेलले श्रीमद्भागवत पुराणले उनलाई भगवान विष्णुका अवतार उल्लेख गरिएको उल्लेख गर्नु भयो । विष्णु पुराणले धन्वन्तरि दीर्घतथाका पुत्र रहेको र धन्वन्तरि जरायु बिकारहरुद्वारा रहित देह तथा इन्द्रियवाला तथा सबै जन्ममा सर्वशास्त्र ज्ञाता मानिदै आएको कुरा बताउदै पण्डित पौडेलले भगवान नारायणले उनलाई पूर्व जन्ममा ‘काशिराजको वंशमा उत्पन्न भएर आयुर्वेदको आठ भाग लोकमा प्रसिद्ध गराउने सके भनि वरदान दिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा रुद्रपुर आयुर्बेद औषधालय,कञ्चन ३,रुपन्देहीका कार्यलय प्रमुख समेत रहनु भएका बरिष्ठ कविराज खिमानन्द खनालले वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी मनाइदै आइरहेको जानकारी गराउनु भयो । यसैगरी आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने भएको र काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको समेत बरिष्ठ कबिराज खनालले जानकारी गराउनु भयो ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको बताउदै बरिष्ठ कबिराज खनालले हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिएको उल्लेख गर्नु भयो ।कार्यक्रममा लिलाराम खनालले रुद्रपुर आयुर्बेद औषधालयको भौतिक तथा दक्ष प्राबिधक सहितको चिकित्सक ब्यबस्था गर्नु पर्ने र प्रयाप्त आयुर्बेदिक औषधीहरुको उपलब्धतालाई बढी ध्यान दिन गाउपालिकालाई आग्रह गर्नु भएको थियो । रुद्रपुर औषधालयमा योगाभ्यास गर्न मिल्ने योग हल ब्यबस्था तत्काल गर्नु पर्ने आग्रह गर्दै कञ्चनवासीहरुलाई जडिबुटी खेती तर्फ समेत आकर्षण गर्न आवस्यक बिशेष योजना सहितको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न खनालले आग्रह गर्नु भयो ।वडा सदस्य चुडामणी जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम रुद्रपुर आयुर्बेद औषधालयको परिसरमा भएको हो ।











