बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको स्थापना दिवसको पूर्व शन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । संघको ६९ औं स्थापना दिवसको अवसरमा सोमबार संघको सचिवालय परिसर बुटवलमा रक्तदान गरिएको हो ।निजी क्षेत्रको यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते स्थापना भएको थियो । त्यसयता संघले व्यवसायिक बिकास, उनीहरुको हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक बिकासमा समेत नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी सदस्य, सुभेच्छुकहरुले रक्तदान गरेको संघका कार्यसमिति सदस्य तथा स्थापना दिवस विशेष कार्यक्रमका संयोजक प्रकाश श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रममा आएर रक्तदान गर्नेहरुलाई संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले धन्यवाद व्यक्त गर्नुभएको छ । त्यसै अवसरमा संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु लायन्स प्रथम भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
स्थापना दिवसको अवसरमा आईतबारदेखि नै सचिवालयमा दीपावली गरेको संघले भोली (मंगलबार) विशेष कार्यक्रम गर्दैछ । संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीका अनुसार आईतबार, सोमबार र मंगलबार तीन दिन संघ सचिवालयमा दीपावली गरिने छ । लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीको आतिथ्यतामा हुने कार्यक्रममा पूर्वअध्यक्षहरुबाट जीवनप्रसाद वझालाई सम्मान गरिने संघले जनाएको छ । स्थापना दिवसको अवसरमा संघले प्रत्येक वर्ष पूर्वअध्यक्षबाट १ जनालाई सम्मान गर्दै आएको छ । बुटवलका उद्योगी व्यवसायी वझा २०५३–२०५५ सम्म संघको अध्यक्ष हुनु भएको थियो ।स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्रि प्रदान गरिने छ भने बुटवल बालमन्दिरमा अध्ययन गर्ने वालबालिकालाई शैक्षिक तथा खेलकुदका सामाग्रि र दिवा खाजा (खाद्यान्न) प्रदान गर्ने कार्यक्रम तय गरिएको महासचिव बिमलराज भट्टराईले बताउनु भयो ।












