शंकरनगर खानेपानी सुरक्षित खानेपानी वितरणमा मुलुककैं सर्वोत्कृष्ट

प्रकाशित मिति:

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वडा नं. २ मा रहेको शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुरक्षित खानेपानी वितरणमा मुलकमैं सर्वोत्कृष्ट भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले शंकरनगर खानेपानीलाई सुरक्षित खानेपानी सेवा प्रदान गरेकोमा सर्वोत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।

विभागले प्रदान गरेको प्रमाणपत्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनिधी पोखरेलले खानेपानीका अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गर्नुभयो । विभागले मुलुकका दश वटा खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेकोमा ती आयोजनाहरु मध्ये शंकरनगर खानेपानीलाई वेसलाइन एसिस्मेन्टमा उच्चतम अंकसहित प्रथम भएको प्रमाणपत्र प्रदान गरेको हो ।विभागले खानेपानीको दिगो व्यवस्थापन, व्यवस्थित तथा सुरक्षित खानेपानी वितरणमा शंकरनगर खानेपानीले उत्कृष्ट कार्य गरेको जनाएको छ ।

विभागले बर्दिवास—महोत्तरी, पाँचधारा—काठमाडौं, मानगढ—मोरङ, गजुरी—धादिङ, भादगाउँ करादी खिरखाँदी—तनहुँ, लेखनाथ—कास्की, प्रगतिनगर—नवलपरासी, शंकरनगर— रुपन्देही, सुर्खेत उपत्यका—सुर्खेत, अत्तरिया—कैलाली समेतका दश वटा शहरी खानेपानी आयोजनाहरुमा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना लागू गरेको छ ।खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले आगामी दिनमा शंकरनगर खानेपानीको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत उत्तिकैं महत्वपूर्ण काम गर्ने बताउनुभयो ।