कञ्चन-महिलाहरुलाई सिपयुक्त बनाउन संचालन गरिएको एक महिने एडभान्स सिलाई कटाई तालिम बुधवार सम्पन्न भएको छ। सिलाई कटाई सम्बन्धी आधारभुत तालिम लिई ब्यबसायिक सिप दक्षता हासिल गर्न नसकेका महिलाहरुका लागि उक्त एडभान्स तालिम संचालन गरिएको हो ।तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले अदक्ष जनशक्ती भएका महिलाहरुलाई दक्ष बनाउन बिभिन्न ब्यबसाय सम्बन्धी तहगत तालिम सञ्चालन गरिने बताउनु भयो ।

तालिम लिएका प्रशिक्षार्थाीहरुले ब्यबसायिक फर्म सञ्चालन गर्न आर्थिक अभाव भएपनि गाउपालिकाले बिपन्न महिलाहरुलाई अनुदान सहयाता गर्दै आएको र आगामी दिनहरुमा सहयोगलाई निरन्तरता दिदै जाने अध्यक्ष क्षेत्रीले बताउनु भयो । सिप भएका कुनै पनि ब्यक्ति कसैको भर पर्नु नपर्ने बताउनु भयो ।
यस्तै तालिमको समापन गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले महिलाहरु सिपयुक्त नभएकै कारण हेपिनु परेको बताउनु भयो । मनमा केही गर्ने आंट भएसंगै कुनै एक क्षेत्रमा दक्ष भएको हरेक ब्यक्तिहरुले काम देउ भनेर कसैसंग हात जोड्न जानु नपर्ने बताउदै उपाध्यक्ष तरामुले महिलाहरुलाई आत्म निर्भर बनाउन गाउपालिकाबाट महिला लक्षित ब्यबसायिक तालिम संचालन गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले कञ्चनका बेरोजगारहरुलाई घरमै स्वरोजगार बनाउन गाउपालिकाबाट ब्यबसायिक तालिमहरु संचालन गर्दै आएको तर तालिम लिएका केही प्रशिक्षार्थीहरु बाहेक प्रायले सिपको सदुपायोग नगरेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।प्रशिक्षार्थीहरुको तर्फबाट सिकाई अनुभव बताउदै प्रशिक्षार्थी उषा पुनले आफुले सिकेको सिपलाई सदुपयोग गरी घरमै स्वरोजगार बन्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । यस्तै प्रशिक्षक जित बहादुर परियारले तालिममा सहभागी भएर मात्र सहभागिताको प्रमाण पत्रले आयश्रोतको आधार तयारु नहुने बताउनु भयो । सिकेको सिपलाई समयमै सदुपायेग गरी ब्यबहारमा उतार्न सके रोजगार घरमै श्रृजना हुने बताउनु भयो ।
कञ्चन गाउपालिकाको सामुदायिक हल दियो बजारमा भएको तालिमको समापन कार्यक्रम कञ्चन गाउपालिकाका सहायक महिला बिकास निरीक्षक राधा भट्टराईले सञ्चालन गर्नु भएको थियो । तालिममा सहभागी २० जना प्रशिक्षार्थीहरुलाई सिलाई मेसिन, स्केल लगायत सामाग्रीहरु समेत निशुल्क वितरण गरिएको सहायक महिला बिकास निरीक्षक राधा भट्टराईले जानकारी गराउनु भयो । एक महिने एडभान्स सिलाई कटाई तालिममा प्रशिक्षार्थीहरुले कोट, पाइन्ट, शर्ट, चोली, भोटो लगायत सिलाउन सक्ने दक्ष सिप युक्त महिला तयार भएको सहायक महिला बिकास निरीक्षक भट्टराईले बताउनु भयो ।












