काठमाडौं, चैत ९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्नेमा जोड दिएका छन्।त्रिभुवन विश्वविद्यालय त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको कीर्तिपुरमा आयोजित १२औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताएका हुन्।ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, कसले गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने या नखोल्ने र संघ र प्रदेशको जिम्मेवारी केके हुने भन्ने विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो।
विगतमा कांग्रेस प्रतिपक्षमा हुँदा पनि आफूले शिक्षा तथा स्वास्थ्य समिति, प्रधानमन्त्री तथा मन्त्रीहरुसमक्ष पटकपटक छुट्टै ऐन बनाउनेबारे प्रस्ताव राखे पनि सुनुवाइ नभएको जानकारी दिए।अहिले निरन्तरको संसद अवरोधका कारण सो विषय प्राथमिकतामा पर्न नसकेको उनको भनाइ थियो। महामन्त्री थापाले मुलुकको जेठो विश्वविद्यालय भएकाले उच्च शिक्षालाइृ कता लाने भनेर त्रिविले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।त्रिविलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको बताउँदै उनले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए। त्रिविमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सवैको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो। महामन्त्री थापाले त्रिविलाई राजनीतिक दलसँग आबद्ध भएका व्यक्तिले बिगारेको भन्ने आरोपलाई असत्य साबित गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए।। उनले मुलुकमा ठूलो परिवर्तन भए पनि विश्वबिद्यालयको विषयमा कसैको ध्यान जान नसेकेको भन्दै चिन्ता व्यक्त गरे।












