पुरुषोत्तम पाण्डेय/ बुटवल ।नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति रुपन्देहीले सोमबार स्थानीय तह निर्वाचन २०७९ मा लुम्बिनी प्रदेशबाट विजयी जनप्रतिनिधिहरूको सम्मानार्थ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय कमिटीको समन्वयमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा नेकपा एमालेबाट उम्मेद्बारी दिई विजयी हुन सफल प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनासहित टीका तथा खादाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिबाट पाँचवर्षे कार्यकालमा स्मरणीय र विकासप्रेमी काम हुन सकोस् भन्ने शुभेच्छासहित बधाई कार्यक्रम आयोजना गरेकोमा नेपाल बुद्धिजीवी परिषद् रुपन्देहीलाई धन्यवाद दिनुभएको थियो भने सुनवल नगपालिकाका प्रमुख विमला अर्यालले सामाजिक रूपान्तरणका लागि जनताले दिएको जिम्मेबारी अति संवेदनशील भएर पूरा गर्ने र त्यसका लागि सबैको साथ चाहिने बताउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सचिव कृष्ण कुमार लम्सालले नवनिर्वाचित जनप्रतिनिधिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले नेकपा एमालेबाट उम्मेदवारी दिई विजयी हुन सफल जनप्रतिनिधिलाई हार्दिक बधाई दिँदै पाँच वर्षको समयावधिमा जनमनमा बस्न सक्ने विकास निर्माणका काम गर्नुहुन अनुरोध गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल हरेक दृष्टिकोणले सफल रहोस् भन्ने शुभकामना दिनुभएको थियो ।
नेपाल बुद्धिजीवी परिषद् रुपन्देहीका अध्यक्ष रामप्रसाद घिमिरेको स्वागत मन्तव्यसहित अध्यक्षता, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको प्रमुख आतिथ्यता, परिषद्का केन्द्रीय सचिव कृष्णकुमार लम्सालको विशिष्ट आतिथ्यता, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, परिषद्का केन्द्रीय सदस्य द्वय वसन्त खनाल र सुष्मा शर्मा भुसाल, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बुद्धिजीवी परिषद् रुपन्देही जिल्लाका इन्चार्ज बलबहादुर पाण्डे लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण परिषद्की सह सचिव सविता निरौलाले गर्नुभएको थियो ।












