आफ्नो मातृघर फर्केकोमा प्रतिक्रिया र टिप्पणी गर्नुहुने महानुभावहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु -डा बालकृष्ण चापागाई

प्रकाशित मिति:

म एउटा सामान्य व्यक्ति हुँ । वि.सं. २०३५ साल फागुनको पहिलो साता तत्कालीन को. के. (मा.ले.) को राजनीतिक सम्पर्कमा आवद्ध भए यता २०७८ भदौ ८ गतेसम्म मा.ले., एमाले, एकीकृत नेकपा र पुन: एमाले गरी झण्डै ४४ वर्ष निष्ठापूर्वक पार्टीको संस्थापन पक्षमा खडा हुँदै आएको हुँ । एक वर्ष अघि २०७८ भदौ ९ गतेदेखि नेकपा एमालेबाट विद्रोह गरी निर्माण हुँदै गरेको नेकपा ‘एकीकृत समाजवादी’ को केन्द्रीय सदस्य, रुपन्देही इन्चार्ज र केन्द्रीय अर्थ तथा योजना उपप्रमुखको हैसियतले काम गर्दै आएको सन्दर्भमा २०७९ भदौ २५ गते एकीकृत समाजवादी पार्टीबाट राजीनामा दिई भदौ २६ गतेको मितिमा एक विज्ञप्ती जारी गर्दै एमालेमा सगौरव फर्केको घोषणा गरेको हुँ । एक वर्ष अघि बिद्रोह गरी नेकपा एसमा सक्रिय रही ४३ वर्ष आफूले काम गरेको पार्टीमा पुन: फर्किदा अनेकौ क्रिया प्रतिक्रियाहरु आउनु स्वभाविक हो ।
राष्ट्र, समााज र मेरो व्यक्तिगत हितलाई समेत ध्यानमा राखी विभिन्न महानुभावहरुबाट अत्यन्तै प्रेमपूर्वक आएका क्रिया, प्रतिक्रिया र टिप्पणीहरु सबै मेरा लागि अत्यन्तै मननयोग्य छन् भन्ने ठान्दछु ।

यी सुझाव र आलोचनात्मक प्रतिक्रिया र टिप्पणीहरुप्रति मैले उच्च सम्मान सम्मान व्यक्त गर्दछु । मलाई आफ्नो सिंगो जीवन अर्पित गरेको एमाले पार्टीमा फर्केर योगदान दिन आग्रह गर्नुहुने पार्टीका श्रद्धेय अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यू, केन्द्रीय उपाध्यक्ष श्री विष्णु पौडेलज्यूलगायतका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक र म दुई कार्यकालसम्म केन्द्रीय अध्यक्ष भई नेतृत्व गरेको संस्था प्रेस चौतारी नेपालका केन्द्रीय समितिका पदाधिकारी साथीहरुलगायतका सबै मातहत कमिटीका साथीहरु, मैले विभिन्न कालखण्डमा नेतृत्वमा रही काम गरेका संघसंस्थाका मित्रहरु र मलाई मिडियामा निकै महत्व र स्थान दिने समग्र सञ्चारक्षेत्र प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु ।
आफ्नो मातृघरबाट कुनै विषयमा बिमती जाहेर गरी हिंडेको सन्तान फेरि एक वर्षपछि घर फर्किदा परिवारमा खुशी छाउनु स्वभाविक हो ।

म एमालेमा एक वर्षपछि फर्केको दिन भदौ २६ गते मेरा लागि सुखद र अविस्मरणीय रहेको छ । म जस्तो सामान्य व्यक्तिलाई मिडिया जगत र समग्र राजनीतिक क्षेत्रले जुन उच्च महत्व दियो यसबाट म अत्यन्तै हर्षित र खुशी छु । आफूले १६ वर्षको कलिलो उमेरबाट राजनीति शुरु गरी ४४ वर्षसम्म अनवरत योगदान दिएको पार्टीमा एक वर्षपछि पुन: फर्किदा मेरो विषयमा चिन्ता जाहेर गरी विभिन्न प्रतिक्रिया दिनुहुने सबै प्रियजनप्रति पुन: हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु । अब मुलुक आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावतर्फ केन्द्रित हुँदैछ । यो चुनावमा कसरी वाम प्रगतिशील शक्तिको जित हुने वातावरण निर्माण गर्ने ? भन्ने विषयमा ध्यान दिनु जरुरी छ । विगतका कमीकमजोरीहरुलाई सच्च्याउँदै नेकपा एमालेले विभिन्न बाम घटकहरुलाई समेत साथमा लिई आगामी चुनावलाई अग्रगमन , शान्ति र समृद्धिको लागि फलदायी परिणाम आउने गरी सुझबुझपूर्ण निर्णयका साथ अगाडि बढ्नु बाञ्छनीय देखिन्छ ।
भवतु सब्ब मंगलम् ।
डा. बालकृष्ण चापागाईं
बुटवल, रुपन्देही
मिति: २०७९/०५/२८ गते