चाडपर्व नजिकिएसंगै पश्चिम नवलपरासीमा बजार अनुगमनले तिब्रता पाएको छ । बिजया दशमी तथा शुभ दिपावली, छठ पर्व लगाएतका चार्डपर्व नजिकिदै गर्दा जिल्लाको संयुक्त बजार अनुगमन समितिले अनुगमनलाई तिब्रता दिएको हो । यसैगरि समितिले आज बर्दघाट नगरपालिका क्षेत्रको बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, ईलाका प्रहरी कार्यालय, बर्दघाट नगरपालिका र पत्रकारहरु सहितको अनुगमन टोलीले नगरको पञ्चनगर, बर्दघाट, बाढीपिडित लगाएतका बजारका खाद्यान्न तथा किराना पसलहरुमा अनुगमन गरेको हो ।
चाडपर्वको समयमा व्यवसायीले जथाभावि मूल्य लिने म्याद गुज्रेका अखाद्य वस्तुहरु बेच्ने, कृत्रिम अभाव सिर्जना गर्ने कार्य गर्न सक्ने भएकाले त्यसको न्युनिकरणका लागि बजार अनुगमन गरीएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेले बताउनु भएको छ । अनुगमनका क्रममा कतिपयले दर्ता विनै पसल सञ्चालन गरिरहेको, दर्ता गरेपनि पान नम्बर नलिएको, नविकरण नगरेको, मदिरा तथा सुर्तिजन्य वस्तु विक्रि वितरणका लागि अनुमति नलिएको, बर्दघाट नगरले सुर्तिजन्य बस्तुको वेचविखनमा रोक लगाए पनि खुल्लेआम पसलमा झुन्डाएर विक्रि वितरण गरेको पाईएको अनुगमन टोलीमा सहभागि बर्दघाट नगरपालिकाका उद्योग वाणीज्य शाखा प्रमुख पशुपति गैरेले जानकारी दिनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेका अनुसार २० वटा विभिन्न प्रकृतिका पसलहरुका अनुगमन गरीएको थियो । अनुगमनका क्रममा नियम विपरीत कारोबार गरिरहेका सबै व्यापारिक फर्महरुलाई तत्काल नियम अनुसार चल्न निर्देशन दिदै म्याद सकिएका वस्तुहरुको जफत गर्ने र नष्ट गर्ने काम गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्दिप लामिछानेले बताउनुभयो । यस अगावै टोलीले जिल्लाको परासी, सुनवल लगाएतका क्षेत्रहरुमा अनुगमन गरिसकेको छ भने अनुगमनलाई जिल्लाका अन्य बजार क्षेत्रमा समेत अनुगमनलाई तिब्रता दिइने लामिछानेले जानकारी दिनुभएको छ ।












