जनकपुरधाम, साउन – मिटरब्याजसम्बन्धी विधेयक पारित भएको अवसरमा पीडितहरूले र्याली निकालेर खुसी साटेका छन्।आइतबारको प्रतिनिधिसभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक–२०८० संशोधनसहित पास गरेपछि यसबाट लाभान्वित हुनेहरूले सरकारलाई धन्यवाद दिँदै खुसी साटेका हुन्। उनीहरूले सरकारले बनाएको कानुन कार्यान्वयन गर्न उनीहरुले माग पनि गरेका छन्।
पारित विधेयकमा मिटरब्याजलाई अनुचित लेनदेन मान्दै कारबाही गर्ने व्यवस्था गरिएको छ। मिटरब्याज पीडितहरु भेला भएर जनकपुरमा र्याली गरेका हुन्। मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्याली निकालेका हुन्। उनीहरू जनकपुरको बाह्रबिघा मैदानबाट सयौं पीडितले निकालेको र्याली सहर परिक्रमा गरेर जनकचोकमा कोणसभामा परिणत भएको थियो।












