प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरूद्ध उजुरी आह्वान

प्रकाशित मिति:

काठमाडौं, साउन – संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान भएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिले बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको हो।श्रेष्ठविरुद्ध उजुरीका लागि दश दिनको समय दिँदै समितिले मर्यादित भाषामा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी दिन सकिने जनाएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन चाहने व्यक्तिहरूले संसद सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगेरसूचना वा उजुरी दिन सक्नेछन्।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने पनि सूचनामा उल्लेख छ।संवैधानिक परिषद्ले साउन १८ गते बसेको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट श्रेष्ठको नाम अनुमोदन भए मात्र राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिर्वाय अवकाशमा गएपछि श्रेष्ठ कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्।