बुटवल । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी , एनआरएनए अध्यक्ष कुल आचार्य , महासचिव केशव पौडेल , एनआरएन क्यानडा निवर्तमान अध्यक्ष दीपक गौतम लगायतका समूहले खरिद गरेको छ । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ ।
टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेको थियो । सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो । हामीले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेका छौं, यस हिसाबले कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढी हुन्छ होला,’ हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले भने ।
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन् । अमेरिकामा १५ वर्षदेखि होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ आफू आएको उनको भनाइ छ । नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्ने प्रतिबद्धता पनि उनले गरे । ‘हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं, विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनि योगदान गरौं भनेर आएका छौं, सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं,’ उनले भने । अब हामीले ३० दिनभित्र कर दायित्व चुक्ता गर्नुपर्छ, त्यसको हिसाबकिताब हुँदै छ, समयभित्रै चुक्ता गर्ने छौं,’ उनले भने । त्यसअघि नै चितवनमा हायात होटेलको चेन भित्र्याउन यो समूहले प्रयास गरेको थियो । तर, त्यहाँ लिने भनिएको जग्गा लिन नसकेपछि समूहले विकल्पको रुपमा टाइगर प्यालेस खरिद गरेको हो । रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको फैसला जिल्ला अदालत रुपन्देहीले गरेको थियो । अदालतको फैसलाको पालना गरेर रिसोर्ट सञ्चालन गर्ने सुवेदीले बताए ।












