तिलोत्तमाको नीति तथा कार्यक्रममा के के छन् ? (पूर्णपाठसहित)

प्रकाशित मिति:

तिलोत्तमा, ५ असार । तिलोत्तमा नगरपालिकाले कृषि, शिक्षा,स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ । दोश्रो नगरसभाको पाँचौ अधिवेशनमा नगर प्रमुख रामकृष्ण खांणले आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखेका छन् । नगरपालिकालाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति निर्माण गरिने नगरपालिकालाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर पालिका बनाउन जनअपेक्षा अनुसार जनताका साझा समस्याहरु समाधान गर्ने प्रकृतिका कृषि क्षेत्रका जनतालाई राहत प्रदान गर्ने तथा आशा जगाउने किसिमका आवश्यक रणनीति निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘बरु म गर्छु कृषिः तर कहीं जान्न देश बिर्सी’ भने नारालाई आत्मसात गर्दै स्वदेशमै कृषि उद्यम गर्न चाहने युवाहरुलाई प्रोत्साहित गर्न युवाहरुले दर्ता गर्ने कृषि फार्मको व्यवसाय दर्तामा शत प्रतिशत छुट दिने नीति लिएको छ । नदी उकास क्षेत्रमा रहेको खाली जग्गामा सामुहिक कृषि गर्ने युवा तथा कृषक समुहलाई प्राथमिकताका साथ जग्गा उपलब्ध गराउने नीति लिएको छ । यस्तै सहकारी संस्थाले गरेको संचालन मुनाफा मध्ये कम्तीमा १०% रकम सहकारी खेती, सहकारी उद्योग वा सहकारी व्यवसायमा लगाउनु पर्ने नीति बनाई कडाईका साथ लागू गरिने नगर प्रमुख खांणले बताए । साथै, विउ उत्पादन, भण्डारण र वितरण स्थानीय कृषि तथा बहुउद्देश्यीय सहकारीहरु मार्फत गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
तिलोत्तमा १० स्थित तिलोत्तमा उद्योग ग्राम लाई शीघ्र निर्माण सम्पन्न तथा संचालन गर्न प्रदेश सरकार र संघ सरकारसंग पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रांगारिक खेती प्रणालीलाई प्रवद्र्धन गन प्राङ्गारिक मल र जैविक विषादी प्रयोगमा मापदण्ड बनाई अनुदान दिइने, गहुँ, मकै, तरकारी बिउ, फलफुलका विरुवा, घाँसका बिउ, साना सिँचाई, फूलखेती, व्यवसायिक तरकारी खेती, बाली विमा, पशु विमामा दिएको अनुदानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरपालिकाभित्र उत्पादन हुने हरियो तरकारी,ताजा फलफुल तथा अन्नहरुको सुरक्षित भण्डारण गर्न तिलोत्तमा नगरपालिका, प्रदेश सरकार, संघिय सरकार एवम् दातृ निकायको सहयोग र सहकार्यमा वडा नं.१७ मा शीत भण्डारण गृह निर्माण गरिने,किसानहरुलाई उपलब्ध गराइने विभिन्न प्रकारका कृषि अनुदान, मल, सिँचाई लगायत लाई व्यवस्थित गराउन मापदण्ड निर्माण गरि तिलोत्तमा किसान कार्ड लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर प्रमुख किसान कार्यक्रमलाई थप प्रभावकारी बनाइने,सिंचाई सुविधा विस्तार गर्ने,फलफूल विरुवाको आपुर्तिका लागि नगरपालिका भित्र सामुदायिक वनसँग साझेदारी गरि गाउँघर नर्सरी स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरवासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै तरकारी तथा फलफूलहरुको विषादी परिक्षण गरी विषादीयुक्त तरकारी तथा फलफूल बजारमा विक्रि वितरण हुनबाट रोक्न द्रुत विषादी विश्लेषण परिक्षण प्रयोगशाला स्थापना गरिने, माटो परिक्षण शिविर, पशु उपचार शिविर, विविध कृषि उत्पादन तालिमहरु संचालन गरिने र कृषि शाखा भलवारीलाई नमूना कृषि प्रदर्शनी स्थलका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि औजार हायरिंग सेन्टर स्थापना, तिलोत्तमा १४ मा पशु हाटबजार स्थापना गरि संचालन, धान खेतीमा हाँस पालन गर्ने किसानहरुलाई अनुदानमा विशेष जातका हाँसका चल्ला उपलब्ध गराउने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटनतर्फ आठ धामः एकै ठाम भन्ने नाराका साथ निर्माणाधीन मोक्षधाम निर्माणलाई पूर्णता दिन पहल गर्ने,कुन्जपार्कमा रात्रीकालिन उद्यानमा लेजर लाईट सहितको म्यूजिकल वाटर फाउण्टेन निर्माण,प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नगरक्षेत्र भित्रका सम्पदा संरक्षणका कार्यमा आवद्ध गरिने, उद्यम ज्ञान रोजगार तथा सूचना प्रविधि मेला संचालन गरिने, महिला तथा अपांगहरुले मात्र संचालन गरेका लघु उद्यम लाई प्रोत्साहन गर्न नगरपालिकाद्वारा व्यवसाय करमा लिइने दरमा ७५ प्रतिशत छुट दिइने र मेड इन तिलोत्तमा नारा अन्तर्गत नगरपालिका भित्रको एउटा विशिष्ट उत्पादनको लागि आवश्यक योजना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शिक्षातर्फ नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागु गरिने, नगरभित्र टिनको छानो भएका सामुदायिक विद्यालयहरुमा फल्स सिलिङ राखिने,विद्यार्थी करियर गाइडेन्स, एक विद्यालय एक सृजनशील कार्यक्रम,सिर्जनशील शुक्रवार कार्यक्रम, च्यालेन्ज फण्ड, अन्वेषण तथा नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
आगामी शैक्षिक सत्र देखि नगर क्षेत्रमा एक महिला विद्यालय संचालन,पढ्दै कमाउँदै कार्यक्रम लागू गरिनेछ ।
स्वास्थ्यतर्फ स्वस्थ नागरिक सम्बृद्ध तिलोत्तमा नारालाई सार्थक बनाउन जेष्ठ नागरिकहरुलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, मधुमेह रोगको निशुल्क शिविर, पाठेघरको मुखको क्यान्सर शिविर, आँखाको मोतियाबिन्दु पत्ता लगाउने निःशुल्क स्वास्थ्य शिविर साथै आधारभूत स्वास्थ्य सेवाका औषधिहरु नियमित रुपमा वितरण गर्ने व्यवस्था मिलाइने,गर्भवतीसँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
। तिलोत्तमा नगरपालिकालाई घरमा सुत्केरी शुन्य पालिका घोषणा गरि मातृमृत्युदर लाई शुन्यमा झारिने, सम्पूर्ण स्वास्थ्य संस्थामा स्तनपान कक्ष निर्माण गरिने, आनन्दवन र सेमरा बजार स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे सेवा नगरवासी गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क गरिने , अति बिपन्न, असाहय, एकल महिला, सूचीकृत रोगी पूर्ण अपांगता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खेलकुदतर्फ प्रत्येक विद्यालयमा खेलकुद शिक्षक व्यवस्था, शिक्षकहरुलाई खेलकुद सम्वन्धी तालिमको व्यवस्था र तिलोत्तमा म्याराथुन कार्यक्रम संचालन गरिने उल्लेख छ ।
मानव सेवा आश्रम सँगको सहकार्यमा यसै वर्ष नगरपालिकालाई सहयोगापेक्षी सडक आश्रीत मानवमुक्त नगरपालिका घोषणा गरिने, ,नगरपालिकालाई लैंगिकमैत्री नगरपालिका घोषणा गरिन, दलित ज्ञान उत्सव कार्यक्रम संचालन गरिने उल्लेख छ ।
तिलोत्तमा लगानी सम्मेलनमा निजि क्षेत्रद्वारा प्रस्ताव गरिएको तिलोत्तमा ट्राम रेल तथा दुग्ध प्रशोधन परियोजनालाई सञ्चालनमा ल्याउन सहजिकरण गरिने, खरको छानोमुक्त नगरपालिका बनाइने, ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउन पार्कहरुको स्तरोन्नति गरिने,एक सामुदायिक वन एक जडीवुटी उत्पादन कार्यक्रम लागु गरिने उल्लेख छ ।
यस्तै एकल विन्दु सेवा केन्द्रको स्थापना गरि सेवा प्रवाहलाई सरल र व्यवस्थित वनाइने ,गरिव तथा विपन्न नागरिकहरुका लागि निःशुल्क कानुनी सहायता दिन छुट्टै कक्षको स्थापना,नगर प्रमुख नवप्रवर्तन प्रोत्साहन कार्यक्रम संचालन,डिजिटल तिलोत्तमा कार्यक्रमलाई निरन्तरता,अवण्डामा बजेट राखेर बजेट कार्यान्वयनलाई निरुत्साहित गरिने, भ्रष्टाचारजन्य क्रियाकलापप्रति शुन्य सहनशिलताको नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तिलोत्तमाको नीति तथा कार्यक्रमका आधारमा वजेट बनाइने नगर प्रमुख रामकृष्ण खांणले बताए ।

हेरौं पूर्ण पाठ , पूर्ण पाठ हेर्न नीलो अक्षरको नीति तथा कार्यक्रम वाक्यमा क्लिक गर्नुहोला । 

नीति तथा कार्यक्रम  ०८१-082