वालिङ- स्याङ्जाको वालिङ नगरपालिका वडा नं.५ का महिलाहरुलाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी वितरण गरिएको छ । स्थानीय बुढाबराजु स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ पाठा वितरण गरिएको हो ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले कृषि तथा पशुपालनमा नगरलाई आत्मनिर्भर बनाउ विभिन्न कार्यक्रम गरिदै आएको बताउनु भयो । उहाँले भन्नुभयो,“विभिन्न संघसंस्थाको सहकार्यमा पालिकाले साना किसानलाई अगाडि बढाउन काम गरिरहेको छ ।”
महिलालाई आर्थिक रुपमा सवल बनाएमा मात्रै ग्रामीण क्षेत्रको विकास सम्भव भएको उहाँको भनाई छ । पालिकाले दीर्घकालिन योजना बनाएर साना किसानलाई अगाडि बढाउने काम गरिरहेको उपप्रमुख तिवारीले बताउनु भयो ।कार्यक्रम हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्वयुले स्थानीय सरकारसँग मिलेर महिला तथा युवालाई उद्यमशीलतामा जोड्ने काम गरिरहेको बताउनु भयो । वालिङ नगरपालिकामा भर्खरै काम सुरु भएको प्रवन्धक साम्वयुको भनाईछ ।कार्यक्रममा वालिङ नगरपालिकाका पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बङ्गुर पालन गर्ने तरिका र यसबाट फाईदा लिन सकिने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रम अन्तरगत बुढाबराजु महिला स्वावलम्वी समूहका २५ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको हो ।












