काठमाडौँ — कास्की जिल्लामा बहने सेती र मादी नदीमा बनाएको दुई जलबिद्युत आयोजनामध्ये एकको निर्माण सम्पन्न भइ उद्घाटन गरिएको छ भने अर्कोको ऋण लगानी सम्झौता गरिएको छ । काठमाडौमा शुक्रबार आयोजित विषेश समारोहमा कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा लेखनाथ महानगरपालिकामा निर्माण सम्पन्न गरिएको सेतीनदी जलविद्युत आयोजनाको उद्घाटन गरिएको हो भने कस्कीकै मादी गाउँपालिकामा निर्माण सुरु गरिएको बज्रमादी जलविद्युत आयोजनाका लागि ऋण लगानी सम्झौता गरिएको हो ।
सेती नदीको २५ मेगावाट क्षमताको सेतीनदी जलबिद्युत आयोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित हो। आयोजनाबाट उत्पादिन विजुली २०८१ साल कार्तिक २७ गतेदेखि नै नेपाल विद्युत प्राधिकरणले खरिद गर्न सुरु गरेको भएपनि औपचारिक उद्घाटन भने प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार गर्नु भएको छ।
सेतीनदी जलविद्युत आयोजनामा १५ सयभन्दा बढी संस्थापक लगानीकर्ताको सहभागिता रहेकोले यो आयोजना अरु भन्दा फरक र नमुना रहेको आयोजनाका प्रबन्ध सञ्चालक जगत बहादुर पोखरेलको भनाई छ ।उहाँका अनुसार, झण्डै ६ अर्ब रुपैयाँको लागतमा सम्पन्न परियोजनाबाट वार्षिक १४८ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ। १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत लाहाचोक सबस्टेसनमा जोडिएको बिजुली अहिले प्राधिकरणमार्फत वितरण भइरहेको आयोजनाका अध्यक्ष सुदिन सिंह अधिकारीले जानकारी दिनुभयो ।
शुक्रवार नै ऋण लगानी सम्झौता भएको २४.८ मेगावाट क्षमताको बज्र मादी जलबिद्युत आयोजना बज्र इनर्जी भेन्चर्स प्रा. लि.द्वारा प्रवर्द्धित छ । यस आयोजनाका लागि एनएमबी बैंक लिमिटेड लिड बैंकका रूपमा र कृषि विकास बैंक सदस्य बैंकका रूपमा सहभागी भएका छन्।आयोजनाका अध्यक्ष पोखरेलले परियोजनाको क्षमता ३१ मेगावाटसम्म विस्तार गर्ने तयारी भइरहेको र जसअनुसार उत्पादन पनि वार्षिक १८३ गिगावाट घण्टासम्म पुग्ने जानकारी दिनुभयो। आयोजनाको हाल स्वीकृत लागत ५ अर्ब ३५ करोड रहेको छ भने स्तरोन्नति भएपछिको लागत ६ अर्ब ३५ करोड पुग्ने अनुमान गरिएको छ। आवश्यक ऋणमध्ये ३७४.५ करोड रुपैयाँ बैंकहरूबाट व्यवस्थापन भइसकेको उहाँले बताउनु भयो।
कार्यक्रममा पुर्वअर्थमन्त्री खतिवडाले दुबै आयोजनामार्फत ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सक्रियता बढेको उल्लेख गर्दै नेपाल सरकारको ऊर्जा विकास मार्गचित्र–सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन लक्ष्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भिजन लुम्बिनीको टिमको काम गर्ने शैलीबाट आफू प्रभाववित भएको उल्लेख गर्दै काम गर्ने शिलशिलामा कुनै बाधा अवरोध भएमा सहजीकरण गर्न सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अर्का अतिथि तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विद्युत आयोजना निर्माणलाई सहज बनाउन आफू सधैं सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।इप्पानका अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनीको टिमको काम गर्ने शैली अनुकरणीय रहेको उल्लेख गर्दै आफू पनि सहयात्री बन्न चाहेको बताउनु भयो ।एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भिजन लुम्बिनीको टिमको कामप्रति पुर्ण विश्वाश भएकै कारणले नयाँ आयोजनामा पनि ऋण लगानीको नेतृत्व गरिएको जानकारी दिनुभयो।कार्यक्रममा आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।












