फोहरमैला व्यवस्थापनमा देशकै नमुना बन्दै तिलोत्तमा नगरपालिका

प्रकाशित मिति:

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका फोहरमैला व्यवस्थापनमा देशकै नमुना बनेको छ। जिल्लाका अधिकांश पालिकाहरू फोहोर व्यवस्थापनको चुनौती झेलिरहेका बेला तिलोत्तमाले भने योजनाबद्ध ढंगले फोहर संकलन, प्रशोधन र पुनः प्रयोगको प्रक्रिया अपनाउँदै उदाहरणीय कार्य गरेको छ। ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ भन्ने नारासहित अगाडि बढेको नगरपालिकाले घर तथा उद्योगबाट उत्पादन हुने कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै संकलन गरी वैज्ञानिक ढंगले व्यवस्थापन गर्दै आएको छ। यसबाट नगरले राजस्वसमेत आर्जन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।

उनका अनुसार तिलोत्तमाको सफल अभ्यास हेर्नका लागि अन्य पालिकाहरू अध्ययन भ्रमणमा समेत आउने गरेका छन्। “नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्य, नवीन सोच र प्रविधिको प्रयोगमार्फत फोहरमैला व्यवस्थापनलाई सफल बनाएको छ,” अर्यालले भने।नगरप्रमुख रामकृष्ण खाणका अनुसार तिलोत्तमाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) र वास स्वास्थ्य सहकारी संस्थासँग सहकार्य गर्दै फोहरको संकलन, प्रशोधन र पुनःप्रयोगलाई प्राथमिकतामा राखेको छ। नगरले कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने तथा नकुहिने फोहोरबाट व्रिकेट (पर्यावरणमैत्री दाउरा) र पुनः प्रयोगयोग्य सामग्री उत्पादन गर्दै आएको छ। नगरपालिकामा १७ वडाहरू रहेका छन्। ती वडाहरूलाई तीन तहमा विभाजन गरी फोहोर व्यवस्थापन गरिएको छ। वडा नं. १, ३, ४, ५ र ६ मा ‘सुन्दर नेपाल’ संस्थासँगको सहकार्यमा फोहर व्यवस्थापन भइरहेको छ भने वडा नं. २ मा स्थानीय उपभोक्ता समितिबाट र वडा नं. ७ देखि १७ सम्ममा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाबाट व्यवस्थापन भइरहेको वातावरण शाखा हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालले बताए।

दैनिक झन्डै २० टन फोहोर संकलन हुने तिलोत्तमामा सरसफाइको कार्यमा १२० जना जनशक्ति खटिएका छन्। नगरले प्रत्येक महिनाको १ र १५ गते वडास्तरमा सरसफाइ अभियान सञ्चालन गर्दै नागरिकलाई फोहोर छुट्याउने, संकलन गर्ने र व्यवस्थापनमा सहभागी हुन प्रेरित गर्दै आएको छ। समुदाय, सहकारी, निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यमा स्वच्छ र व्यवस्थित नगर निर्माणको सफल उदाहरण बनेको तिलोत्तमा नगरपालिकाले जनाएको छ।