गोपिकृष्ण रेग्मी चापाकोट | वैशाख १८ — चापाकोट नगरपालिका वडा नं ८ मा रहेका विपन्न वर्गका स्थानीयहरूलाई लक्षित गरी विभिन्न कृषि सामग्रीहरू वितरण गरिएको छ। रत्नपुर बहुउद्देश्यीय सहकारी संस्थाको पहल, वडा कार्यालयको सिफारिस र कृषि ज्ञान केन्द्र स्याङ्जाको पोषण कार्यक्रम अन्तर्गत लाभग्राहीहरूलाई ड्रम, पाइप, कुखुराका चल्ला, दाना, विषादी छर्कने पम्प र दाना दिने भाँडाहरू प्रदान गरिएको छ। यस कार्यक्रमले स्थानीय विपन्न वर्गको आयआर्जनमा सहयोग पुर्याउने र उनीहरूको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य लिएको छ।
सहकारी संस्थाका अध्यक्ष रत्न प्रसाद बराल, प्रबन्धक, तथा सञ्चालक समितिका सदस्यहरूको सक्रिय भूमिका, साथै कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक तथा सामग्री सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।वडा नं ८ का अध्यक्ष टोपलाल न्यौपाने (राजु) ले कार्यक्रममा विशेष उपस्थित जनाउँदै भन्नुभयो
“सहकारी संस्था, कृषि ज्ञान केन्द्र र वडा कार्यालयबीचको सहकार्यले यस्तो उपयोगी कार्यक्रम सम्भव भएको हो। यस कार्यमा संलग्न सम्पूर्ण सहयोगी मनहरू प्रति म वडा कार्यालय र व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्दछु।”
स्थानियहरूद्वारा पनि कार्यक्रमको खुलेर प्रशंसा गरिएको छ। उनीहरूले यस्ता कार्यक्रमले गाउँमै रोजगारी र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरेका छन्।३५ विपन्न नागरिकका परिवारलाइ सामाग्री वितरण गरिएको थियो ।












