
शेयरधनी, कर्मचारी र पत्रकारलाई निषेध गरेर ग्रामिण बिकास बैंकको साधारण सभा सम्पन्न
हरिश ढकाल- बुटवल, २८ असार । दश बर्षअघि पाँचवटा क्षेत्रियस्तरका ग्रामिण बिकास बैंकहरु गाभिएर बनेको ग्रामिण बिकास लघुबित्त संस्था लि.को दशौं साधारण सभा बुटवलमा सम्पन्न भएको छ । केही शेयरधनी र कर्मचारीहरुको चर्को बिरोधका बिच पत्रकारहरुलाई समेत प्रबेशमा रोक लगाएर गरिएको साधारण सभाले संस्थालाई मर्जर प्रकृयामा लैजाने निर्णय गरिएको छ । तिन जिल्ला कार्यक्षेत्र रहेको सर्लाहीको मलंगवाको समाज बिकास लघुबित्त संस्थासँग समान अनुपातमा गाभ्ने निर्णय गर्ने निर्णय संचालक समितिले गरेपछि केही शेयरधनी र केही कर्मचारीहरुले बिरोध गर्दै आएका थिए ।
नेपाल राष्ट्र बैंकको मर्जर पोलिसि अनुसार बि.सं २०७१ सालमा समान प्रकृति, समान उद्देश्य र समान सिद्धान्तका पाँचवटा क्षेत्रियस्तरका ग्रामिण बिकास बैंकहरु गाभिएर बनेको सो ग्रामिण बिकास लघुबित्त संस्था लि.का संचालकहरुको निहित स्वार्थका कारण यो निर्णय गरिएको आरोप लागेको छ । संचालक र प्रमुख कार्यकारी अधिकृतको निजि स्वार्थमा सानो र कमजोर संस्थासँग मर्जरको निर्णय गरिएको आरोप लगाएको नेपाल राष्ट्रिय कर्मचारी संगठनले साधारण सभा प्रबेशद्धारमा बिरोध प्रदर्शन समेत गरेको छ । संगठनका अध्यक्ष दिपेन्द्र लुइृटेलले समग्र संस्था, शेयरधनी र कर्मचारीको हित बिपरित निर्णय भएकोले बिरोध प्रदर्शन गरिएको बताए ।पटक पटक साधारण सभा हुने स्थानको ठेगाना परिवर्तन गरि शेयरधनीहरुलाई झुक्याउने खेल भएको भन्दै उनिहरुले बिरोध गरेका छन् । शेयरधनी डिलकुमारी पौडेल शर्माले संस्थागत रुपमा खवरै नगरेको आरोप लगाउदै आफै थाहा पाएर साधारण सभास्थल पुग्दा प्रहरी लगाएर प्रबेशमा रोक लगाएको गुनासो गरिन । मिति २०८२÷०३÷०५ गतेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार २०८२÷०३÷१३ गते प्रकाशित सुचनामा संस्थाको केन्द्रिय कार्यालयमा साधारण सभाको कार्यक्रम रहेकोले उपस्थित हुन सुचित गरिएको थियो । लगत्तै २०८२÷०३÷१९ गते अर्को सुचना प्रकाशित गरेर स्थान परिवर्तन गरिएको छ । स्थान बुटवल १२ कालिकानगर एसियन होटेलमा आयोजना गरिएको भनेर लेखिएको छ, यद्यपी कालिकानगर बुटवल १२ मा पर्दैन र बुटवल १२ मा कालिकानगर र एसियन होटेल भन्ने छैन ।
यस्ता नक्कली र बनावटी कार्यगरि खासगरि महिला शेयर सदस्यहरुलाई अलमल्याउने कार्य गरेको भन्दै शेयरधनी दुर्गा चापागाईले संस्थासँग असम्बन्धित मानिसहरु परिचालन गरेर आफुहरुलाई साधारण सभामा प्रबेश गर्न नदिइएको बताईन् । मर्जर भएको १० बर्षसम्म शेयर धनीहरुलाई कुनै नाफा दिन नसकेको सो बित्तिय संस्थाले आफुहरुमाथि ज्यादती नै गरेको आरोप लगाउदै उनले पहिले केही नभन्ने यहाँ आएपछि शेयरधनी परिचय पत्र र शेयरधनी प्रमाणपत्र चाहिन्छ भनेर प्रबेशमा रोक लगाएको भन्दै बिरोध गरिन् । यस्तै देवदह खैरेनीका चन्द्रकान्त न्यौपानेले यसरी हातहतियार सहितका प्रहरी प्रशासन लगाएर शेयर सदस्यहरुलाई साधारण सभामा जान रोक लगाउनु निन्दनिय भएको बताए ।
अधिकांश शेयरधनी र कर्मचारीहरुले संचालक समिति र साधारण सभाले संस्थाको हित बिपरित गरेका निर्णयहरु खारेजीको माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिने बताएका छन् । यद्यपी संचालक समितिका अध्यक्ष भरतराज कोईराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आफुहरुले संस्थाको हितलाई ध्यानमा राखेर मर्जरमा जाने निर्णय गरेको बताए । संस्थाको हित नचाहने केही तत्वहरुको उक्साहटमा केही कर्मचारी र शेयरधनीहरुले बिरोध गरेको आरोप लगाउदै संस्थाको नेतृत्वले अरुको हितमा नभै संस्थाकै शेयरधनी र कर्मचारीहरुको हितमा निर्णय गरेको हुनाले यसमा अन्यथा नलिन आग्रह समेत गरेका छन् ।साधारण सभामा अध्यक्ष कोइरालाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाबाट देशका ५६ जिल्लाका १८९ शाखामार्फत ३६९ स्थानीय तहका २ लाख १६ हजार ८७५ सदस्यलाई लघुवित्त सेवा पु¥याएको जानकारी दिए । २०८१ असार मसान्तसम्म कुल कर्जा लगानी १२.२३ अर्ब रुपैयाँ र बचत ३.५४ अर्ब रुपैयाँ पुगेको बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कटुवालले संस्थाको हित संरक्षण तथा उचित प्रतिफल सुनिश्चित गर्न योजनाबद्ध ढंगले काम गरिने प्रतिबद्धता जनाए । शेयरधनी चन्द्र नारायण श्रेष्ठले गरिबी निवारणमा संस्थाको भूमिकालाई प्रशंसा गर्दै मितव्ययी व्यवस्थापन र लाभांश सुनिश्चिततामा जोड दिन सुझाव दिए । संस्थाका पूर्व अध्यक्ष माणिकरत्न शाक्यले संस्था सन्तोषजनक रूपमा अघि बढेको बताए ।