
स्याङ्जाको लसर्घामा बाख्रापालन कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
स्याङ्जा, कालीगण्डकी — गण्डकी प्रदेश सरकारको आर्थिक अनुदानमा सञ्चालित बाख्रापालन कार्यक्रमको समिक्षा तथा फलोअप कार्यक्रम अन्तर्गत स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२, लसर्घामा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी प्रदेश सरकारले १८ लाख रुपैयाँ अनुदान प्रदान गरेको थियो भने कुल लागतको १० प्रतिशत किसान स्वयंले योगदान गरेका थिए। यस सहकार्यले स्थानीय किसानको स्वामित्व भावना र आर्थिक सहभागिता झल्किएको आयोजकको भनाइ छ।
गोष्ठीका प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य महेश भट्टराईले प्रदेश सरकारले कृषकको जीवनस्तर उकास्न स्थानीय स्तरमा आधारित व्यावसायिक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले भन्नुभयो, आफ्नै गाउँघरमा सीप र स्रोतको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सक्ने सम्भावना नेपाली कृषिमा अपार छ। पशुपालन कार्यक्रमजस्ता पहलहरूले ग्रामीण जनताको आर्थिक सशक्तीकरणमा गहिरो प्रभाव पार्छन्। हामी कृषकलाई अनुदान मात्र होइन, आत्मबल दिन पनि काम गरिरहेका छौं। भट्टराईले भन्नुभयो, कृषकलाई बलियो बनाउने बाटो सीप, सहजीकरण र प्रविधि हो। यस्ता कार्यक्रमले कृषकको विश्वास बढाएको छ। प्रदेश सरकारले आगामी दिनमा अझ व्यवस्थित, वैज्ञानिक र दीर्घकालीन सोचका साथ पशुपालन र कृषि विकास कार्यक्रम अघि बढाउने छ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, वडा नं २ की अध्यक्ष खगिसरा आले, वडा नं। ४ का अध्यक्ष सुन्दर पाण्डेय, नेपाली कांग्रेस कालीगण्डकी गाउँपालिका अध्यक्ष नरबहादुर राना, भेटनरी विशेषज्ञ डा। रूपेश श्रेष्ठ लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। गोष्ठी लसर्घा बहुउद्देश्यीय नमुना कृषक समूहका अध्यक्ष दिपेस रानाको अध्यक्षतामा सम्पन्न भएको हो। यो कार्यक्रममा ५२ घरधुरी कृषकहरूको सहभागिता रहेको छ । बाख्रापालनका लागि आवश्यक खोर निर्माण सामग्रीसहित विभिन्न कृषि उपकरण तथा सामग्रीहरू वितरण गरिएको आयोजक संस्थाले जनाएको छ।