स्याङ्जामा सम्वन्ध बिच्छेद र बालविवाहको संख्यामा उच्च

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल- स्याङ्जा । स्याङ्जामा आर्थिक बर्ष २०८१÷०८२ मा सम्वन्ध बिच्छेद र बाल विवाह गर्ने संख्या उच्च रहेको देखिएको छ । जिल्ला अदालत स्याङ्जाले सार्वजनिक गरेको बार्षिक प्रगति विवरण र गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले दिएको तथ्याङ्को आधारमा सम्वन्ध बिच्छेदका घट्ना र वाल विवाहको तथ्याङक उच्च देखिएको हो । उमेर नै नपुगी विवाह गर्ने संख्या उच्च हुनु र सम्वन्ध बिच्छेदका घट्ना बढ्नुले स्याङ्जा गम्भीर सामाजिक समस्याका रुपमा हेरिएको छ । बालविवाह हुनु र सम्वन्ध बिच्छेदका घट्नाहरु एकअर्का सगँ जोडिएको हुनसक्ने अनुमान गरिएको छ ।जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङक अनुसार अदालतमा दर्ता भएका अधिकांक मुद्धा मध्ये सबैभन्दा धेरै सम्वन्ध बिच्छेद (डिभोर्स) का रहेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका स्वास्थ्य संस्थामा २ हजार ५ सय ५९ महिलाले गर्भ परीक्षण गरेकोमा २ सय १० जना युवती अर्थात ८.२ प्रतिशत महिलाहरु २० वर्षमुनि रहेको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्कले परिपक्क अथवा कानुनले तोकेको २० बर्षभन्दा माथी नपुग्दै विवाह गर्ने प्रचलनले पनि सम्वन्ध बिच्छेद हुने गरेको अनुमान सामाजिक अगुवाहरुले लगाएका छन् ।

आर्थिक वर्ष २०८१÷०८२ मा जिल्ला अदालत स्याङ्जामा दर्ता भएका १ हजार ७ मुद्दामध्ये ५ सय २१ मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेका छन् । अदालतमा कुलदर्ता नयाँ मुद्दामध्ये ६० प्रतिशत सम्बन्ध विच्छेदका रहेको तथ्याङ्कले देखाएको छ । पुराना (जिम्मेवारी सरेका) ८७ सहित सम्बन्ध विच्छेदका कुल ६ सय ८ मुद्दामध्ये ५ सय १८ मुद्दा फछ्र्यौट भएर ९० वटामात्रै मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत स्याङ्जाले जनाएको छ । पुराना १६ नयाँ ८५ सहित वैवाहिक सम्बन्ध अन्त्य तर्फका १ सय १ मुद्दामा ७७ फछ्र्यौट हुँदा २४ मुद्दा बाँकी रहन गएको अदालतका श्रेष्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।यता कानूनले २० वर्ष मुनिको विवाहलाई मान्यता नदिएपनि स्याङ्जामा ‘बालविवाह’ व्यापक रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा सुरक्षित प्रसूति सेवा लिने ८ सय ८२ महिला मध्ये १२ दशमलब ३५ प्रतिशत अर्थात १ सय ९ जना २० वर्ष नपुगेका युवती रहेको पाइएको छ । त्यस्तै ९ सय २४ जनाले महिलाले गराएको सुरक्षित गर्भपतनमा ४३ जना अर्थात ४.६५ प्रतिशत महिला पनि बालविवाहकै सूचीमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रशासक केशव चापागाईंले बताए ।
किशोरावस्थामै भागेर विवाह गर्ने, गरीवी र अशिक्षाका कारण सानैमा विवाह गरिदिने, गरम्परागत सोच र सामाजिक संजालको प्रभावका कारण बावविवाह हुने गरेको हरेक तथ्याङ्कले देखाउछ । जसले गर्दा विवाह लामो टिकाउ हुन नसक्दा सम्वन्ध बिच्छेदमा परिणत हुने घट्नक्रमले देखाएको छ । बालविवाह र सम्बन्ध बिच्छेदका घट्ना बढ्नु मुल कारण अपरिपक्क विवाह भन्ने लागेको श्रेस्तेदार शर्माको भनाई छ । स्याङ्जामा सम्बन्ध बिच्छेदका मुद्धादर्ताको प्रकृति हेर्दा ठ्याक्कै संख्या भन्न सकिएन श्रेस्तेदार शर्माले भने,‘सरदर उमेर हेर्दा १८ बर्षदेखी २५ बर्षभित्रका सम्बन्ध बिच्छेदका लागि आएको देखिन्छ ।’ यसमा सबैभन्दा बढी प्रेम विवाह जो सामाजिक संजालबाट नै विवाहमा परिणत भएको पाएका छौं उनले भने ।

बालविवाहले निम्त्याउने विभिन्न समस्याहरु मध्ये आर्थिक अभाव, मानसिक दवाव र जिम्मेबारीबोधको कमजोरीका कारण सम्वन्ध बिच्छेदलाई बढवा दिएको देखिएको छ । यसलाई न्युनिकरण गर्न शिक्षाको पहुँच बढाउने, बालविवाह विरुद्ध जनचेतना फैलाउने र कानुनी प्रावधानहरुलाई प्रभावकारी कार्यन्वयन गर्न आवश्यक छ । यसका लागि स्थानीय सरकारहरु बढी जिम्मेवार हुनुपर्ने सामाजिक अगुवाहरु बताउछन् ।