गोपिकृष्ण रेग्मी, २७ मंसिर – सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धनमा सन् २०१८ देखि सक्रिय गल्याङ जेसीजले ‘जेसीज सप्ताह २०२५’ का कार्यक्रमहरू सचालन अन्तर्गत आज रगत संकलन गरिएको छ ।मंसिर २६ गतेदेखि पौष ३ गतेसम्म सञ्चालन हुने सप्ताहमा स्वास्थ्य, वातावरण, सांस्कृतिक संरक्षण तथा नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रम समावेश गरिएको छ।
जेसीज सप्ताहको सुरुवात रामनदी धाम राम्दीमा आयोजना गरिएको बटुक भोजन कार्यक्रमबाट गरिएको हो। सप्ताह अन्तर्गत आज आयोजित रक्तदान कार्यक्रममा गल्याङ जेसीज र लुम्बिनी मेडिकल कलेज प्रभाषको सहकार्यमा ४७ पिन्ट रगत संकलन गरिएको गल्याङ जेसीजका महासचिव डोलराज खनालले जानकारी दिनुभयो। जेसीजका अनुसार रक्तदान कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना फैलाउने तथा आपसी सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।
यस वर्षको जेसीज सप्ताहमा सेयर बजारसम्बन्धी तालिम, विद्यालयस्तरीय ट्राफिक सचेतना कार्यक्रम, स्लो बाइक रेस, फोहर टिप्ने प्रतियोगिता, जेब्राक्रसिङ निर्माण, सडक साइनबोर्ड सरसफाइ तथा वातावरणीय स्वच्छता अभियान सञ्चालन गरिनेछन्। यी कार्यक्रमहरूले स्थानीय स्तरमा प्रत्यक्ष प्रभाव पार्ने र समुदायलाई सक्रिय सहभागितामा ल्याउने अपेक्षा गरिएको छ।
गल्याङ क्षेत्रको धार्मिक तथा पर्यटकीय पहिचान बोकेको सेतिवेणी सालिग्राम शिलाको संरक्षण तथा प्रवर्द्धन कार्यक्रम यस वर्षको सप्ताहको मुख्य आकर्षणका रूपमा रहेको छ। यसले गल्याङको सांस्कृतिक महत्व अभिवृद्धि गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रित गर्ने विश्वास गरिएको छ।
यसैगरी संस्थाले पूर्व अध्यक्ष तथा संस्थापक सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम, जेसीज पारिवारिक वनभोज तथा जेसीज पार्क निर्माणको पहिलो चरण सुरु गर्ने योजना पनि सार्वजनिक गरेको छ। दीर्घकालीन सामुदायिक संरचना, हरियाली प्रवर्द्धन र संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यसहित यी कार्यक्रमहरू आयोजना गरिएको जनाइएको छ।
साथै एण्टिबायोटिकको दुरुपयोग र सुरक्षित प्रयोगसम्बन्धी सचेतना कार्यक्रममार्फत स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य ज्ञान प्रदान गरिनेछ। स्थानीय निकाय, विद्यालय, सामाजिक संघ–संस्था तथा समुदायको सहकार्यमा सञ्चालन हुने यी कार्यक्रमहरूले गल्याङलाई स्वास्थ्य, सामाजिक चेतना, वातावरणीय स्थिरता तथा पर्यटन प्रवर्द्धनमा सशक्त नगरका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको गल्याङ जेसीजका अध्यक्ष ज्ञानेन्द्र पाठकले बताउनुभयो।












