बर्दघाटमा शैक्षिक नतिजा ६० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पुष ४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयतर्फ कक्षा ८ को नतिजा विश्लेषण गरेको छ । नगरपालिकाको लक्ष्य सबै विद्यालयको नतिजा न्यूनतम ६० प्रतिशत भन्दा माथि के कसरी पुर्‍याउन सकिन्छ भन्ने बिषय समेत प्र अ सहित शिक्षकला राखेर छलफल गरिएको हो ।


कार्यक्रममा विद्यालयभित्र अनुकूल शैक्षिक वातावरण तयार गर्न प्रधानाध्यापकले नेतृत्वदायी भूमिका खेल्नुपर्ने र विषय शिक्षकहरूले आफ्ना–आफ्ना विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो । कक्षा नियमितताका लागि नगरले सट्टा शिक्षकको व्यवस्था समेत गरेको उल्लेख गरिएको छ ।


विद्यालयहरूको नतिजा विश्लेषण तथा तथ्यांक प्रस्तुतीकरण शिक्षा शाखाका अधिकृत धनपति पौडेलले गर्नुभएको थियो । सो अवसरमा नगरभित्रका विषय शिक्षक र प्रधानाध्यापकहरूले आगामी वर्ष नतिजा कसरी थप सुधार गर्न सकिन्छ भन्ने विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।


शिक्षा शाखा प्रमुख डिल्लीराम ढुंगानाले अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव रहेको उल्लेख गर्दै उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी कसरी उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरको शैक्षिक स्तर सुधार्न नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार र बजेट वृद्धि मात्रले परिणाम नआउने भएकाले सबै शिक्षकले मेहनत गरी ६० प्रतिशतभन्दा माथिको नतिजा ल्याउन तयारीमा लाग्न निर्देशन दिनुभयो । नगरले सट्टा शिक्षक राख्न पाउने गरी बजेट व्यवस्था गरिएको जानकारी पनि नगर प्रमुख श्रेष्ठले गराउनुभयो ।


त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले विषयगत शिक्षकको उचित व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताउँदै शिक्षण–सिकाइको पुरानै शैली परिवर्तन गर्न नसक्दा अपेक्षित नतिजा आउन नसकेको धारणा राख्नुभयो ।


सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले २०७९ सालदेखि नतिजा सुधारका लागि पहल सुरु गरिएको बताउँदै २०८० सालदेखि हालसम्म केही सुधार देखिए पनि अपेक्षाअनुसार वृद्धि हुन नसकेको उल्लेख गर्नुभयो । समग्र नतिजा हेर्दा गणित विषय कमजोर देखिएको भन्दै विषयगत शिक्षकहरूसँग छुट्टै छलफल गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । गुरुङले गत वर्ष सबै विद्यालयको स्थलगत निरीक्षण गरी शैक्षिक अवस्था कमजोर रहेका विद्यालय तथा शिक्षकहरूसँग पुनः छलफल गरी विशेष सुधार योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


४ सयभन्दा बढी शिक्षक कार्यरत बर्दघाट नगरका सामुदायिक विद्यालयहरूको कक्षा ८ को नतिजा विश्लेषणअनुसार राष्ट्रिय माध्यमिक विद्यालयले सबैभन्दा बढी ७०.७१ प्रतिशत नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको छ । शान्ति निकुञ्ज माध्यमिक विद्यालयले ५९.९ प्रतिशतसहित दोस्रो र दाउन्ने देवी माध्यमिक विद्यालयले ५४.३२ प्रतिशतसहित तेस्रो स्थान प्राप्त गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।


विषयगत नतिजाअनुसार नेपालीमा आनन्द आधारभूत विद्यालयले १०० प्रतिशत, अंग्रेजीमा गंगा माध्यमिक विद्यालयले ८७.५ प्रतिशत, गणितमा गंगा माध्यमिक विद्यालयले ८५ प्रतिशत, विज्ञानमा गंगा माध्यमिक विद्यालयले १०० प्रतिशत, सामाजिकमा ९५.५ प्रतिशत र स्वास्थ्यमा सरस्वती माध्यमिक विद्यालयले ९४.९ प्रतिशत नतिजा ल्याउँदै नगरमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।


अखण्ड आधारभूत विद्यालयमा सबैभन्दा कम ३ जना विद्यार्थी रहेको र नतिजा पनि कमजोर देखिएको जनाइएको छ । त्यस्तै आनन्द आधारभूत विद्यालयले व्यवस्थापन समितिको सहयोग नपाएको, शिक्षक दरबन्दी कम भएको र प्रशासनिक कामको चापका कारण पर्याप्त कक्षा लिन नसक्दा नतिजा प्रभावित भएको जानकारी गराइएको थियो ।