शान्ति नमुनामा मेदिनी सेक्टरको उद्घाटन र कक्षा आरम्भ

प्रकाशित मिति:

वैशाख १५, तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा-५, मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको मेदिनी सेक्टरको औपचारिक उद्घाटन तथा नयाँ शैक्षिक सत्रको कक्षा आरम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद् र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मेदिनी सेक्टरको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै नगर प्रमुख खाँणले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा यस्ता पहलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, कार्यक्रममा तिलोत्तमा वडा नं. ५ का अध्यक्ष रमेश डुम्रे, शिक्षा अधिकृत धनिराम पन्थी र विद्यालयका सल्लाहकारहरू टेक बहादुर थापा तथा अर्जुनराज उपाध्याय लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले स्वागत गर्दै विद्यालयलाई उत्कृष्ट र नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मेदिनी सेक्टर संयोजक सीता पुर्जाले सबै अभिभावक र विद्यार्थीको मन जितेर विद्यालयलाई उदाहरणीय बनाउने विश्वास दिलाउनुभयो।

विद्यार्थीहरूलाई प्रोत्साहन गर्न विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बुद्धिबहादुर डुम्रे, कौशिला रायमाझी, सहायक प्रधानाध्यापक लोकनाथ कँडेल, दिपेन्द्र शाक्य, शिक्षक अभिभावक संघका कार्यवहाक अध्यक्ष अञ्जन धिताल, सदस्यहरू सुनिता पाण्डे भुसाल र तुलसी खनाल लगायतको उपस्थिति थियो।

शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा खुसी व्यक्त गर्दै मेदिनी आधारभूत विद्यालयका पूर्व अध्यक्ष जगत पौडेल र चरित्र ज्योति नारी जागरण आमा समूहका प्रतिनिधिहरूले पनि ऐक्यबद्धता जनाउनुभएको थियो।

मेदिनी सेक्टरको सञ्चालन र कक्षा आरम्भसँगै विद्यार्थी तथा अभिभावकहरूमा नयाँ उत्साह देखिएको छ।