मानव सेवा आश्रमलाई सहयोग

प्रकाशित मिति:

बुटवल/सडकमा अलपत्र परेका असहायलाई आश्रय दिइरहेको मानव सेवा आश्रम बुटवललाई सहयोग प्रदान गरिएको छ । बुटवल मैनाबगरका ग्रील व्यवसायी दिलबहादुर रानाले आफ्ना स्वर्गीय बुबा र दाजुहरुको स्मृतिमा आश्रमलाई आर्थिक सहयोग र आश्रममा रहेका २६ जनालाई भोजन दान समेत गरेका छन् । मानसिक सन्तुलन बिग्रिएका,घरपरिवारबाट तिरस्कृत भएका र सडकमा रहेका असहायहरुलाई आश्रममा राखिएको छ ।

उनीहरुलाई सेवा गर्नु नै सच्चा मानवीय सेवा र धर्म भएकाले आफूले आर्थिक सहयोग र भोजन दान गरेको रानाले बताए । उनले स्थानीय सरकारले आश्रमलाई महंगो भाडाको घरबाट उपयुक्त जग्गामा स्थानान्तरण गर्न आवश्यक रहेको बताए । सुख्खानगरमा सांघुरो घरमा माथिल्लो तलामा राख्नुपर्दा अशक्त र विरामीहरुलाई अप्ठेरो भएको रानाले औंल्याए । आश्रमलाई हिलपार्कको फेदीमा र जितगढीमा राख्न खोज्दा स्थानीयले विरोध गर्नु अमानवीय कार्य भएको उनले औंल्याए ।

राना ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् । आश्रमकी स्वयंसेविका सिर्जु अधिकारीले देशभरका शाखाहरुमा ६ सय जनालाई आश्रय दिएको र सबैको सहयोगबाट उनीहरुको भरणपोषण भएको जानकारी दिइन् ।