रुपन्देही/ रुपन्देही उद्योग संघमा समय र तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षता, वरिष्ठ प्रशिक्षक ब्रह्म कुमार रमण भट्टराईको प्रशिक्षण र उद्योगीहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । तालिममा बोल्नुहुँदै संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले समय व्यवस्थापन उद्योगीहरुका लागि अपरिहार्य विषय रहेको र समय व्यवस्थापन गर्न सकिएमा मात्रै औद्योगिक विकासले गति लिनेमा जोड दिनु भएको थियो ।
उहाँले तनाव व्यवस्थापन क्षमताको अभावले उद्योगीहरुले ठूलो समस्या झेल्नु परेकोले यस्ता व्यवस्थापन तालिमले उद्योगीलाई राहत मिल्ने बताउनु भएको थियो । तालिमका मुख्य प्रशिक्षक रमण भट्टराईले मानिस कसरी खुःशी हुन सक्दछ सफलता कसरी प्राप्त हुन्छ र स्वयंलाई चिन्न नसक्दा मानिस कसरी भौतारिरहेका छन् तथा समय र तनावलाई खुशीका साथ कसरी अवलम्वन गर्न सकिन्छ जस्ता विषयमा देश विदेशका उदाहरण सहित प्रशिक्षण दिनु भएको थियो । वहाँले सहभागीहरुलाई वर्तमानमा रमाउन र खुशी बाँडेर बाँच्न सुझाव समेत दिनु भएको थियो । संघका पदाधिकारी, वस्तुगत समितिका संयोजकहरु एवं सदस्य उद्योगीहरुको सहभागितामा सम्पन्न तालिमको संचालन संघका महासचिव कृष्ण प्रसाद पराजुलीले गर्नु भएको थियो ।












