हरिश ढकाल / बुटवल उपमहानगर वडा नम्बर १७ रानीगन्ज स्थित शिवनगर जनसंघर्ष सुकुम्बासी टोलमा निर्माणाधिन बुद्ध मन्दिरमा गौतम बुद्धको मुर्ती स्थापना गरिएको छ । झण्डै ३ हजारको संख्यामा घरधुरी रहेको नयाँ बुटवलमा धेरै मन्दिरहरु बुद्धको मन्दिर नरहेको र त्यहाँ धेरै बुद्धधर्ममा आस्था राख्नेहरु रहेकाले उक्त बुद्ध मन्दिर निर्माण गर्न लागिएको हो ।
करिब १ कठ्ठा जग्गामा निर्माण भैरहेको सो बुद्ध मन्दिरमा २० हजार मुल्य बराबरको मुर्ती स्थापना गरिएको र हालसम्म ५० हजार लगानी भैसकेको उक्त मन्दिर निर्माण समितिका संयोजक तथा शिवनगर जनसंघर्ष सुकुम्बासी टोलका अध्यक्ष प्रेमसागर तिवारीले बताए ।
संयोजक तिवारीका अनुसार शान्तिका अग्रदुत भगवान गौतम बुद्धको सम्मान र बौद्ध धर्मप्रति आस्था राख्नेहरुको बिश्वासका लागि उक्त स्थानमा बौद्ध मन्दिर निर्माण गरिने भएको हो । मन्दिर निर्माण भएसँगै गौतम बुद्धको ठुलो मुर्ती स्थापना गर्ने योजना रहेको एवं मन्दिर निर्माणका लागि बिभिन्न संघसंस्था र निकायसँग सहयोगको अपेक्षा गरिएको पनि तिवारीले बताए । करिब १० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो मन्दिरका लागि स्थानिय सुकुम्बासी टोलका जनताले श्रमदान गरिरहेको र आर्थिक सहयोग पनि जुटीरहेको उनले बताए ।












