मलाई पनि स्टेज मा हातले माइक समातेर गाउने रहर छ: रुपा रौतार

प्रकाशित मिति:

रुपा रौतारका दुबै हात छैनन् । उनी चार वर्षकी हुँदा करेन्ट लागेर दुबै हात गुमेका थिए । काठमाण्डौंको कान्ति बाल अस्पतालमा उनको उपचारको क्रममा मात्र आफ्ना दुबै हातहरु गुमेका रुपाले थाहा पाइन् । दुबै हात नभएर पनि उनमा आँट,हिम्मत र जाँगर उस्तै छन् बुटवलस्थित दीप बोर्डिङ्गको कक्षा ८ मा पढ्दै गरेकी रुपाको उमेर अहिले १३ वर्ष पुग्यो । रुपाका बाबा विष्णु रौतार बुटवलमा रहेको आम्दा अस्पतालमा सामान्य चौकीदारी काम गर्छन् ।

आमा इन्द्रकला रुपाकै स्याहार सुसारमा दिन बिताउँछिन् । रुपाको मुख्य साहारा भनेकै आमा इन्द्रकला हुन् । रुपाको खास घर कपिलवस्तुको बाणगंगा नगरपालिकाको धनकौली गाउँ हो । सोही गाउँमा उनले नर्सरी पढ्दै गर्दा त्यस्तो दुर्घटना हुन पुगेको आमा इन्द्रकलाले बताइन् । रुपा उदीयमान गायिका हुन् । उनले बागेश्वरी संगीतालयमा भोकलको तालिम लिन थालेको पनि चार वर्ष चल्दैछ । म त हिम्मतवाली उनको भरखरै बजारमा आएको गीति एवम् भिज्यूअल एल्वम हो । रुपाले कक्षा केजीबाटै दीपमा पढन् थालेकी हुन् । उनको पढाई औसत् रहेको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण आफूहरुले रुपाको शैक्षिक क्रियाकलापमा विशेष सहयोग गर्दै आएको र उनलाई पूर्णरुपमा छात्रवृत्रि,खाजा र यातायातको साधनमा पूर्ण छुट दिइएको प्राचार्य न्यौपानेले श्रीनगर अनलाईनलाई जानकारी गराए । रुपाको भौतिक रुप कमजोर होला तर उनमा रहेको अदम्य शाहस,केही गरौं भन्ने सकारात्मक भावना र विश्वासिलो एवम् पाको विचारले उनलाई निरन्तर अघि डोराई रहेको पाउन सकिन्छ ।

रुपाले टाँकवाला लुगा लगाउन सक्दिनन् तर खाना खान,कापीमा लेख्न सहजै सक्छिन् । सुरुका कक्षाहरुमा उनका अक्षरहरु दामी थिए रे १ रुपा सुनाउँदै थिइन् । पछिल्ला कक्षाहरुमा हतारमा र धेरै कुरा लेख्नुपर्ने भएकै कारण समेत अक्षरहरु पहिलाका तुलनामा उति सुन्दर छैनन् भन्छिन् उनी । रुपाले बाबुआमालाई पाल्ने हिम्मत पालेकी छन् । बाबा आमाको साथमा जीवन गुजार्ने विचार कसेकी रुपको अनेक इच्छा,चाहना मध्ये आफ्नो एउटा हातमा कृत्रिम हात राख्ने र त्यो हातले माईक समाएर गीत गाउने नै छ । उनको त्यो उत्कट इच्छा पूरा गर्न जागिरे बाबा र उनका सुसारे आमाले सक्दैनन् । उनको त्यो आशालाई हामीले मार्नु हुँदैन । त्यसका लागि हामी सबै नागरिकहरुले सक्दो आर्थिक,भौतिक एवम् नैतिक सहयोग गर्नु जरुरी हुन आउँछ । हामीले गरेको सामान्य सहयोगले पनि उनले सोचेको कृत्रिम हात राख्ने सपना पक्कै पनि पूरा हुने छ । उनकै जीवनका विषयमा समेत गीत लेखिएको छ । उनी आफैले समेत गाएकी छिन् । उनका गीतप्रतिको मोहलाई कसैले छेक्न सक्दैन । गीतले उनको जीवनमा नयाँ आयाम थपेको छ ।

गीतसँगै पढाईलाई अघि बढाई रहेकी रुपाको एसईईपछिको शैक्षिक यात्रा समेत संगीतमय हुने छ । संगीतले उनलाई नयाँ जीवन दिएको छ । जीवन जिउने कला दिएको छ । जीवनमा कहिल्यै हार नखाएकी रुपाका कुरा सुनिरहँदा सबैलाई प्रेरणा जगाउँछ । केही गरौं भन्ने हिम्मत थप्छ र जीवनको सार नै केही गर्नु हो भन्ने सकारात्मक धारणामा मलजल गर्छ । तपाइँ हामीहरुले उनको पढाई र भविष्यको जीवन यात्रामा सफलता दिल्याउनका निम्ति सक्दो आर्थिक,भौतिक एवम् नैतिक सहयोग गरौं । तपाइँ हाम्रा सहयोगी हातहरु रुपाका भावी जीवनका लागि उत्पे्ररक बन्न सकून् । तपाइँ हाम्रा सहयोगले रुपाको जीवनमा नयाँ आयाम थपिने छन् । रुपामा केही थप सांगीतिक यात्रा गर्न सहयोग मिल्ने छ र सामान्य आर्थिक हैसियत भएको परिवारलाई केही राहत मिल्ने छ ।