भरत प्रधान
लिस्बन। विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा यही मे, १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो । बुद्ध जयन्तीको अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचनसमेत हुने बताइएको छ ।
बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको महासंघका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी भई बुद्धजयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई अध्यक्ष रानामगरले विशेष आग्रहसमेत गर्नुभएको छ ।
पोर्चुगलमा हरेक वर्ष यहाँ क्रियाशील नेपाली संघ–संस्थाको संयोजनमा बुद्धजयन्ती मनाइँदै आएको छ।












