स्वस्थानी व्रतकथा भित्रका केही पाटा

प्रकाशित मिति:

ऋषि पतिहरूबाट यौन सन्तुष्टि नपाएका ऋषि पत्नीहरू महादेवको लिंग देखेर पछि लागेका जस्ता प्रसंगहरू पारिवारिक कथा लाग्दैनन् ।‘यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत: स्तुन्वन्ति दिव्यै: स्तवै’ … म कनीकुथी पढ्न सुरु गर्थें । आमा किताब नै नहेरी लय मिलाएर श्लोक भन्नुहुन्थ्यो । हामी कसैलाई पनि आमाले क, ख पनि सिकाउनु भएन । त्यसैले हामीलाई कहिल्यै लागेन आमा पढ्न जान्नुहुन्छ । स्वस्थानी वाचनको सुरुवातमा वा अन्त्यमा भन्नुपर्ने श्लोकमा जब मेरो जिब्रो लट्पटिन्थ्यो आमा सच्चाइदिनुहुन्थ्यो ।

म छक्क परेर आमाको मुखतिर हेर्थें । उहाँ एकचित्त भएर फूल लिई हात जोडेर बस्नुहुन्थ्यो र मधुर आवाजमा लयबद्ध पाठ गरिरहनुहुन्थ्यो । म ४/५ कक्षामा हुँदादेखि नै आमा स्वस्थानी पाठ गर्न लगाउनुहुन्थ्यो, म जानी नजानी पढ्ने गर्थें । कुनै अप्ठ्यारा शब्दहरूमा जब म अल्झिन्थें तब आमा हेर्दै नहेरी भनिदिनुहुन्थ्यो । अरू समयकी निरक्षर आमा स्वस्थानी कथाका श्लोकहरू तथा अन्य भित्री कथा पनि मुखाग्र भन्नुहुन्थ्यो ।

पुस शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको व्रत बस्ने, उपासना गर्ने तथा कथा वाचन गर्ने प्रचलन छ । यस समयमा विशेषगरी व्रतालु महिलाहरूको राजधानी नजिकैको शालीनदी लगायत आफ्नै घर नजिकका नदी, खोलाहरूमा नुहाउने तथा पूजापाठ गर्ने भीडै लाग्ने गर्छ । महिला, पुरुष जो कोही पनि व्रत बस्न सक्ने भनिए पनि कथामा हिमालयकी पुत्री पार्वती, अप्सराहरू, गोमा, चन्द्रावती लगायत महिलाहरू व्रत बसेका प्रसंग आउनु तथा पार्वतीले महादेव पति पाउन गरेको व्रत भनिनुले पनि स्वस्थानी व्रतमा महिला चासो बढी देखिन्छ ।

व्रत पछि बिछोडिएका पतिपत्नीको भेटका प्रसंगहरूका कारण पनि स्वस्थानी व्रतलाई योग्य पति पाउन वा बिछोडिएकाको मिलनका रूपमा लिने गरिन्छ । व्रत बस्नाले सुख समृद्धि तथा सन्तान प्राप्ति हुनेजस्ता फल प्राप्त हुने भनिए तापनि कथामा व्रतका कारण चाहेको पति पाउनेदेखि, बिछोडिएका पति–पत्नी तथा आफन्तजनसँग भेटजस्ता कुरामा बढी विश्वास रहेको देखिन्छ । स्वस्थानी कथामा पृथ्वीको उत्पत्तिदेखिका विभिन्न कथा उल्लेख गरिए तापनि देवता र दानव बीचका शक्ति संघर्षका कथाहरू तथा महादेवका बहुलठ्ठीपूर्ण कहानी जस्तै : प्रेमको नाममा महादेवले सतिदेवीको मृत शरीर बोकेर हिँड्नेदेखि नवविवाहिता पार्वतीलाई छाडेर विविध रूप धारण गरी अर्कैसँग रोमान्स गर्दै हिँड्ने, लीला भन्नु उपयुक्त होला कथाहरू भनिएको छ । स्वस्थानी परमेश्वरीको व्रत कथा भनेर देवी आराधनाको चर्चा गरिए तापनि स्वस्थानी देवीलाई भन्दा महादेवलाई केन्द्रमा राखेर अधिकांश कथा अगाडि बढ्छन् ।

कथा तत्कालीन समाजको प्रतिबिम्ब हो । महिला जीवनको अस्तित्वको उपासना, व्रतमा मात्र सीमित गर्नुले तत्कालीन परिवार तथा समाजमा महिलाको उपस्थिति प्रस्ट हुन्छ । जालन्धरकी पत्नी वृन्दा निष्ठावान पतिव्रता छिन् । उनको यस निष्ठाले गर्दा महादेव, विष्णुजस्ता भगवान् पनि उनलाई युद्धमा परास्त गर्न सक्दैनन् तर उनै वृन्दाका पति जालन्धर हाकाहाकी पत्नीसँगै सल्लाह गरेर पार्वतीलाई छल गरी यौन सम्बन्धका लागि जान्छन् । तर, यसमा वृन्दाको कुनै आपत्ति छैन । पटक–पटक सृष्टिका पालक भनिएका विष्णु जालन्धरजस्तै भेष बदलेर वृन्दाको सतित्व डगाउन पछि पर्दैनन् । देवाधिदेव भनिएका महादेव पाप भनिएको परस्त्रीसँगको यौन सम्बन्धको (परपुरुषसँगको यौन सम्बन्ध नारीका लागि पाप भनिएको छ भने परस्त्रीसँगको सम्बन्धमा परपुरुषको उपस्थिति अवश्य हुनुपर्ला) लागि विष्णुलाई पठाउँछन् । हामीजस्ता सामान्य मानिसको बुझाइमा देवताका पनि देवताहरूका यी हर्कत साँच्चै राक्षसी लाग्छन् । यी कथाहरूले तथाकथित देवताहरूको निचतालाई प्रस्ट्याउँछ । यौनको निजत्वलाई बेवास्ता गर्छ र बलात्कारका लागि प्रेरित गर्छ ।

स्वस्थानी कथा ‘जेन्डर बायस्ड’ छ । देवीको व्रतकथा भनिएको छ तर देवीलाई गौण र मौन राखिएको छ । महादेवको आरधनालाई केन्द्रमा राखिएको छ । त्यस्ता महादेव जो आफ्नी पत्नीलाई छाडेर कहिले राजहाँसका रूपमा त कहिले मृगका रूपमा रोमान्स गर्दै हिँड्छन्, कहिले किरातको रूप धारण गरी सुन्दरी किरातिनीसँग यौन सम्बन्ध राख्न आतुर हुन्छन् । आफू विवाहेत्तर सम्बन्धमा रुची राख्छन् र रावणको तपस्यासँग खुसी भएर आफ्नै पत्नीलाई दिई पठाउँछन् । त्यसैले यो यस्तो कथा हो जसले पुरुष देवताका हरेक कुकर्मलाई लीलाको नाममा प्रस्तुत गर्छ र नारीलाई अनुशासनको पाठ पढाउँछ ।

बरु कथामा राक्षसहरूको राक्षसी प्रवृत्तिको खासै उल्लेख छैन । देवताहरूसँग भएका शक्ति संघर्ष बाहेक आम मानिसलाई दु:ख दिने राक्षसहरू कथामा देखिँदैनन् । बरु लहडी देवताहरूबाट झन्डै बिनाकारण जस्तै, सामान्य मानिस जस्तै, शिव भट्ट दम्पती, गोमा तथा चन्द्रावती आदिलाई सताइएको छ । धर्मशास्त्रहरूका अनुसार तथा आम बुझाइमा पनि देवत्वलाई मानवताभन्दा उच्च स्थानमा राख्ने गरिन्छ । बच्चा आफंमा भगवान्का रूप हुन भनिन्छ तर बाबुआमा शिव भट्ट ब्राह्मणको प्रगतिसँग डराएर ७ वर्षकी बच्ची (गोमा) लाई ७० वर्षको बूढोसँग विवाह होस् भनी श्राप दिनेजस्तो कुरा राक्षसी कृत्यभन्दा तल्लो स्तरको लाग्छ । श्राप दिने सन्दर्भमा होस् वा वरदान दिने सन्दर्भमा देवताहरूले शक्तिको अत्यधिक दुरुपयोग गरेका प्रसंगहरू कथाभरि प्रशस्त छन् ।

ब्रह्मचर्यमा रहेर, मन शुद्ध राखी वाचन गर्ने भनिएको स्वस्थानी कथाका कतिपय ठाउँमा कुरीकुरी लाग्ने प्रसंगहरू पनि आउँछन् । यौन क्रियामा व्यस्त रहेका महादेव पार्वतीको कोठामा भिक्षुको रूपमा जबर्जस्ती छिर्ने अग्नि हुन् वा भिक्षा भनेर विर्य दिई पठाउने महादेव र त्यसलाई खाइदिनेजस्ता कथा पढ्दा हुने ‘भिज्युअलाइज’ ले नीला फिल्मको झझल्को दिन्छ । त्यस्तै परिवारका सदस्यलाई राखेर सुनाउने कथाका कतिपय प्रसंग पढ्दा वा सुन्दा लाजै लाग्ने सन्दर्भहरू पनि आउँछन् ।

‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत, छैन…’ लाई प्रतिबिम्बित गर्छ स्वस्थानी कथाले । महादेव ७ वर्षकी गोमालाई श्राप दिन्छन् । आफैं ७० वर्षको शिव शर्मा ब्राह्मणको रूप धारण गरी गोमाको शोषण गर्छन् र गर्भवती बनाई अलपत्र पारेर छाड्छन् र यसलाई शिवको लीला भनिएको छ । कहिले कसको त कहिले कसको रूप धारण गरी नारीको परीक्षा लिँदै हिँड्छन् भने कुनै सुन्दर युवती देख्नेबित्तिकै मोहित भएर पछि लाग्छन् । यस्ता देवता कुनै कोणबाट हेर्दा पनि हामीलाई बुझेका देवता लाग्दैनन् ।

मैले सुरुमा नै चर्चा गरें, आमा स्वस्थानी मुखाग्र भन्न सक्नुहुन्छ । यो स्वस्थानी संस्कृतिको परिणाम हो । अर्काको घर जाने जातलाई किन पढाउने भन्ने समयमा पनि स्वस्थानी कथा वाचन संस्कृतिले नारीलाई पढ्न, पढाउन प्रेरित गरेको थियो । त्यसो त स्वस्थानी व्रत गर्नुले आफूले चाहेजस्तो वर प्राप्तिको प्रसंग बढी उठाएकाले पनि पति पाउनुभन्दा नारीको अर्को कुनै भूमिका नभएजस्तो गर्छ कथा । अनि स्वभावैले स्वस्थानी व्रतकथा आदिमा नारी चासो बढी देखिन्छ । यसले नारी शिक्षातर्फ प्रेरित गरेको पनि छ । गत वर्ष प्रदर्शनमा आएको हिन्दी फिल्म ‘पीके’ ले धर्मको नाममा हुने ढोंगलाई व्यंग्य गरेको छ । भगवान् ढोंगी हुने रहेछन् कि ! स्वस्थानी व्रतकथामा देखाइएका महादेव, विष्णुका लीलाहरूलाई यिनै ढोंगलाई पर्दाफास गरिएको रूपमा म बुझ्छु । र अन्त्यमा, स्वस्थानी कथा पढेरै हुर्किएको म, कतै कथाकी चन्द्रावतीले स्वस्थानीको अपमान गरेर दु:ख झेल्नु परेजस्तै मलाई पनि त्यस्तै आरोप त लाग्दैन भन्ने अव्यक्त डर लागिरहेछ ।