दीप गायन ताराको आठौं संस्करण हुँदै

प्रकाशित मिति:

बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले यस वर्ष पनि दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले रुपन्देहीका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्न अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा  प्रतियोगिता सञ्चालन गर्न लागेको हो । विद्यालयले आज पत्रकार सम्मेनलको आयोजना गरी यही फागुन ५ र ६ गते कार्यक्रम गर्न लागेको जानकारी गराएको छ ।

विद्यार्थीहरुकोे गायन प्रतिभालाई उजागर गर्दै उनीहरुलाई भविष्यमा राम्रो कलाकार बनाउने उद्देश्यका साथ हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्ने गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो । विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा प्रथम हुनेले १५ हजारका साथ सिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाणपत्र, तृतीय हुनेले ५ हजारका साथ सिल्ड र प्रमाणपत्र तथा सान्त्वना हुने दुई जनाले २÷२ हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी लगायतका राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
हालसम्म यस प्रतियोगितामा अस्मिता चापागाईं, प्रिया भण्डारी, अफ्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ र वर्षा परियार दीप गायन तारा बन्न सफल भएका छन् ।
सोही अवसरमा शैक्षिक सत्र २०७४ मा तहगत तथा कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्ने, विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । यस्तै खेलकुद पत्रकारिता मार्फत् उल्लेख्य योगदान दिनुहुने एक जना पत्रकारलाई नगद १० हजारसहित कदर पत्रका साथ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

पत्रकार सम्मेलन विद्यालयका प्राचार्य कलाधर अर्यालको स्वागत तथा शिक्षक पुरुषोत्तम पाण्डेको सञ्चालनमा भएको थियो भने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यालयका उपप्राचार्य ज्ञानु थापा, कक्षा ११ र १२ तहका संयोजक बसन्त कुमार जोशी लगायतले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।