झविन्द्र देवकोटा ,९ फागुन, बुटवल । प्रदेश ५ को रुपन्देहीमा बहुउपयोगि गुरुयोजना सहितको देवदह मणिदीप धाम बन्ने भएको छ । झण्डै ७ करोड लागतमा बन्न थालेको धाममा जेष्ठ नागरिक मिलन केन्द्र, अतिथी गृह ‘धर्मशाला’, ब्यापारिक सटर, बाल उद्यान, भजन मण्डलीहल लगायतका भौतिक संरचनाहरु निर्माण गरिने भएको छ । स्थानीय दुर्गा प्र्रञ्चायतन मन्दिर संरक्षण समितिले निर्माण गर्न थालेको मणिदीप धाम आउने ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि निर्माणको काम बिहीबारदेखि सुरु गरेको हो । देवदह शितलनगर चोक उत्तरको १० कट्ठा बढी जग्गामा विस २०८० भित्र बहुउपयोगि गुरुयोजना सहितको देवदह मणिदीप धाम बन्ने भएको हो । दश कट्ठा क्षेत्रफलमा बन्न थालेको मणिदीप धाम भित्र दुई करोड ५० लाखको जेष्ठ नागरिक मिलन केन्द्र, एक करोड ८० लाखको अतिथी गृह धर्मशाला, ३५ लाखको आकर्षक बगैचा, ३० लाखको पुजारी घर, ५० लाखको ब्यवसायिक सटर भवन, १५ लाखको भजन मण्डलीहल, १६ लाखको आकर्षक प्रबेश द्वार, ९ लाखको बाल उद्यान लगायतका संरचनाहरु बन्ने भएका हुन् । मणिदीप धाम भित्र पार्किङ्ग स्थल, ढकल निकास, शिस महल, पिउने पानी टंकी लगायतका अन्य विभिन्न खाले संचरनाहरु पनि निर्माण गरिने छ ।
त्यसका लागि अहिले ६ करोड ७५ लाखको बजेट अनुमान गरिएको दुर्गा प्र्रञ्चायतन मन्दिर संरक्षण समितिका अध्यक्ष रमेशचन्द्र रेग्मीले जानकारी दिए । मणिदीप धाम निर्माणका लागि यस अघि संचालन गरेको महायज्ञबाट समितिले ७८ लाख संकलन गरिसकेको र धाम निर्माण सम्पन्न गर्नका लागि बाँकी रकम विभिन्न संघसंस्था र ब्यक्तिसँग सहयोग संकलन भइ रहेको समेत अध्यक्ष रेग्मीले बताए ।डिपिआर तयार पारि निर्माण हुन थालेको मणिदीप धामको प्रदेश पाँचका प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने र देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बिहीबार संयुक्त शिलन्यास गरेका हुन् । शिलन्यागर्दै प्रदेश सांसद डा। न्यौपानेले बुद्धबावली देवदहलाई पर्यटकीय नगरिका रुपमा विकास गर्न धाम निर्माणले धेरै सघाउने बताए । उनले बुद्ध जन्म स्थल लुम्विनीमा आउने पर्यटक धाम निर्माणपछि देवदहमा आउने बलियो मार्ग बन्ने समेत बताए ।उनीभन्छन्– ‘अव जेष्ठ नागरिक रमाउने, नाँच्ने र आफुलाई भुलाउने जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीकै गहना बन्ने छ । अव देवदह क्षेत्रका जेष्ठ नागरिकहरु वेसहारा हुनु पर्दैन ।’ यस्तै देवदह नगर प्रमुख हिराबहादुर खत्रीले धार्मिक सद्भाव कायम गर्नका लागि पनि धाम बहुउपयोगि हुने बताए । उनले देवदहमा रहेका जुनसुकै धार्मिक स्थलहरुको विकास र संरक्षणका लागि नगरपालिका सधैव सकारात्मक रहेको धारणा राखे । खत्री भन्छन्–‘ समृद्ध मुलुकका लागि आध्यात्मिक जागर तथा भौतिक संरचना निर्माणले महत्व स्थान राख्छ, त्यसैले पनि धाम बहुउपयोगि हुने छ ।’ अबको पाँच वर्ष निर्माण पुरा हुने धाम निर्माणका लागि ब्यापारिक सटरका लागि प्रस्ताव आब्हान गरिने धाम निर्माण समितिका अध्यक्ष चेतप्रसाद बस्यालले बताए ।धाम निर्माणका लागि बनेको २१ सदस्यीय समितिले सबै भौतिक संरचना निर्माणका लागि अबको एक साताभित्र टेण्डर आब्हान गर्ने समेत बस्यालले जानकारी दिए । मन्दिर समितिका सचिव कृष्ण न्यौपानेले संचालन गरेको शिलन्यास कार्यक्रममा उपाध्यक्ष धुर्व न्यौपाने, तारा खरेल लगायतले आआफ्ना भनाई राखेका थिए ।












