बुटवल/ बुटवल उपमहानगरपालिकाले भवन संहिताको पूर्ण कार्यान्वयनमा जोड दिँदै सेवाग्राहीका लागि घर नक्सापाससम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइमकार्ड लागू गरेको छ । उपमहानगरपालिकामा घर बनाउने कुनै पनि सेवाग्राहीले आफूले पालना गर्नुपर्ने नियम र भवनसंहिताको मापदण्डका सबै प्रक्रियाका बारेमा पूर्ण जानकारीसहितको पुस्तिका प्रकाशन गरिएको उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उपमहानगरपालिका प्रमुख सुवेदीले उक्त व्यवस्थाको शुरुआत गर्दै सेवाग्राही हेमबहादुर रावललाई त्यससम्बन्धी इजाजतपत्र, घर नक्सापाससम्बन्धी जानकारी पुस्तिकासहितका कागजात हस्तान्तरण गर्नुभयो । उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली शुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो । यस प्रणालीअन्तर्गत हालसम्म एक हजार २७६ नक्सा दर्ता भएको र ३५० ले सम्पन्न प्रमाणपत्र लिइसकेको इञ्जिनीयर सन्तोष पाण्डेले जानकारी दिनुभयो












