टि आर शर्मा चैत, बुटवल । शुकदेव गुरुङलाई शहीद घोषणा गर्न शहिद शुकदेव गुरुङ राष्ट्रिय कार्यदलले माग गरेको छ । राणा शासन विरोधी आन्दोलनका क्रममा जेलमै मारिएका गुरुङलाई राज्यले अहिलेसम्म शहिद घोषणा नगरेर अन्याय गरेको भन्दै कार्यदलले शहिद घोषणा नगरेसम्म आन्दोलन गर्ने जनाएको छ । कार्यदललका प्रवक्ता धनबहादुर गुरुङले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी माग सम्बोधन गर्न संघ र प्रदेश सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे । विगत वर्षदेखि नै शहिद घोषणाका लागि माग गर्दै आएको र प्रदेश सभा वैठकमा सांसदहरुले पनि यो विषय उठाएपनि सरकारले बेवास्ता गरेको उनले गुनासो गरे । कार्यदलले शहिद प्रतिष्ठान घोषणा गर्न र गुरुङलाई शहिद घोषणापछि दिवस मनाउने व्यवस्था गर्न पनि माग गरेको छ । यस्तै भैरहवा वर्मेलीटोलमा शुकदेवको शालिक रहेकाले उक्तचोकलाई शुकदेव चोक नामाकरण गर्न पनि माग गरेको छ । कार्यदलले चैत ८ गते मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने,१० गते भैरहवा वर्मेलीटोल शुकदेव चोकमा १४२ औं स्मृति दिवस मनाउने कार्यक्रम रहेको जनाएको छ । राणा विरोधी आन्दोलनका क्रममा १८ बर्ष जेल जीवन बिताएका गुरुङ वि. सं. १९३३ चैत्र १० गते जेल भित्र नै मारिएका थिए ।












