प्रधानन्यायाधीशबारे आज निर्णय हुँदै, जोशीलाई प्रधानन्यायाधीश बनाउन रोके बैठक बहिष्कार गर्ने काँग्रेसको चेतावनी

प्रकाशित मिति:

काठमाडाैं। संसदको सुनुवाई विशेष समितिको बैठक आज बस्दैछ । आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारेको निर्णय लिने बताइएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्रको प्रसंग अहिले चर्चाको विषय बनेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोशीलाई प्रधानन्यायाधीश नबनाउने पक्षमा देखिएको बताइएको छ । उसलाई अर्को सत्तारुढ दल संघीय समाजवादी फोरमले समेत साथ दिने संकेत गरेको छ ।

सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीश बनाउन रोके प्रमुख प्रतिपक्षी दल काँग्रेसले बैठक बहिष्कारसम्म गर्ने चेतावनी दिएको छ । काँग्रेसले उपसमिति गठन गर्ने विकल्प समेत अगाडि सारेको बताइएको छ । काँग्रेस सचेतक एवं समितिकी सदस्य पुष्पा भुषाले दुई तिहाइको बलमा अस्वीकृत भए स्वतन्त्र न्यायालयमा कार्यकारणीको छाया पर्ने बताउनुभएको छ ।

यसैबीच, नेपाल बार एशोसिएशनले एक विज्ञप्ती जारी गर्दै जोशीलाई संसदीय सुनुवाइपछि राजीनामा मागेको र राजीनामा नदिएमा समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत गर्ने भन्ने विषयमा बारले सूक्ष्म रुपमा अध्ययन गरेको जनाएको छ । विज्ञप्तिमा जोशीको नाम अनुमोदन गर्नका लागि भएको सुनुवाइको विवादले न्यायपालिकालाई नियन्त्रण गर्न खोजेको उल्लेख छ ।