नवलपरासीमा १० हजार ४ सय बढी मत बदर 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
फाल्गुन २६ गते
नवलपरासी । जिल्लामा सम्पन्न निर्वाचनमा कुल खसेको मतको ६ प्रतिशत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख ७१ हजार २२ मत खसेकोमा १० हजार ४७७ मत बदर भएको हो । यो कुल खसेको मतको ६ दशमलव १२ प्रतिशत हो । सदर मत १ लाख ६० हजार ५४५ रहेको छ ।


निर्वाचन क्षेत्र नं. १ मा ८२ हजार १०७ मत खसेकोमा ५ हजार १८ मत बदर भएको निर्वाचन अधिकृत इन्दु देवी न्यौपानेले जानकारी दिनु भयो । निर्वाचनको तथ्यांक हेर्दा क्षेत्र न १ मा ६ दशमलव ११ प्रतिशत बदर भएको देखिन्छ । यस क्षेत्रमा सदर मत ७७ हजार ८९ रहेको छ ।त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा ८८ हजार ९१५ मत खसेकोमा ५ हजार ४५९ मत बदर भएको निर्वाचन मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आचार्यले जानकारी दिनु भयो । यो तथ्यांक हेर्दा क्षेत्र न २ मा ६ दशमलव १३ प्रतिशत मत बदर भएको छ । यस क्षेत्रमा सदर मत ८३ हजार ४५६ रहेको छ ।

क्षेत्र न २ मा ६० स्थानबाट १४९ मतदान केन्द्र र क्षेत्र न १ मा ६२ स्थानमा १४८ वटा मतदान केन्द्र गरी जिल्लामा १२२ स्थानमा २९७ मतदान केन्द्र रहेको जिल्लामा उच्च दरमा बदर मत हुनुले मतदाता शिक्षा कमजोर भएको देखाएको छ । नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्व अध्यक्ष टिकाराम गैरेले जिल्लामा सञ्चालन गरिएको मतदाता शिक्षा कर्मकाण्डी मात्र भएको टिप्पणी गर्नु भयो । ‘मतदाता शिक्षाको नाममा औपचारिकता मात्र पूरा गरियो, त्यसले मतदातालाई मतपत्रमा चिह्न छाप्ने तरिका र बदर मतका कारणबारे पर्याप्त जानकारी दिन सकेन,’ उहाले भन्नु भयो ।

बदर मतको उच्च दरले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम र मतदाताको सचेतनामाथि नै प्रश्न उठाएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुजता खत्रीले जिल्लाका ७४ वटा वडाहरुमा नै स्वयंसेबिकाहरु खटाएको जानकारी दिदै मत परिणामको नतिजा हेर्दा समानुपातिक भन्दा प्रत्यक्षमा बढी मत बदर भएको देखिएको बताउनु भयो । ‘हामीले समयमै मतदाता शिक्षा सञ्चालन गरेका थियौं, तर पनि यति धेरै बदर मत हुनु चिन्ताको विषय हो,’ उहाले भन्नु भयो । मतदाताले प्रत्यक्षतर्फ नै दुई तीन वटा निर्वाचन चिन्हमा नै स्वस्तिक छाप लगाएको पाइएको छ ।

थप समाचार