नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ चौपत्तामा अवस्थित सहिद स्मृति सामुदायिक अस्पतालको सेवा सञ्चालनको नवौं बार्षिक उत्सव बुधबार सम्पन्न भएको छ ।
सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रका अध्यक्ष निमानन्द न्यौपानेको अध्यक्षता तथा प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सहिद स्मृति सामुदायिक अस्पताले निकै संघर्षपूर्ण अवस्था पार गर्दै आजको अवस्थामा आएको बताउदै अस्पताल सुरु गर्ने क्रममा जग्गाको अभाव देखि लिएर अनेकौ समस्या रहेतापनि सवैको सहकार्यले ति समस्या समाधान हुदै आएको भन्दै अहिले अस्पतालको स्तर उन्नती गर्नका लागि थप जग्गाको ब्यबस्थापन गर्नुपर्ने रहेकोमा अस्पताल संगै जोडिएको राष्ट्रिय आवास कम्पनी मातहतको जग्गा अस्पतालका नाममा ल्याउनका लागि आफुले पहल गरीरहेको बताउनुभएको थियो । सासंद अधिकारीले सो जग्गा प्राप्तिका लागि आवास कम्पनी बर्दघाटका प्रमुखसंग पनि छलफल गरेको बताउदै अस्पतालमा आवश्यक भौतिक पुर्वाधार विकास संगै क्षमता बृद्धिका लागि समेत आफुले पहल गर्ने बताउनुभयो ।
सोही अवसरमा बोल्दै अस्पतालका संस्थापक अध्यक्ष क्षेत्र बहादुर थापाले हिजोका दिनमा अस्पताल खोल्ने सन्दर्भमा कुराकानी अगाडि बढ्दै गर्दा एक धुर पनि जग्गा नरहेको अवस्थामा सवैको साथ र सहयोगले स्थापना गर्न सफल भएको भन्दै आगामी दिनमा पनि अस्पतालको विकासमा सवैले सहयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा अस्पताल विकास केन्द्रका पुर्व पदाधिकारीहरु, केन्द्र पदाधिकारी, सल्लाहकार, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगाएतको उपस्थिती रहेको थियो । सो अवसरमा अस्पतालले बार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको समेत आयोजना गर्नुका साथै अस्पतालमा रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो । सोही अवसरमै अस्पतालमा निर्मित चारवटा अतिविशिष्ट क्याविन कक्षको समेत प्रमुख अतिथि अधिकारीद्धारा उद्घाटन गरिएको थियो । अस्पताल विकास केन्द्रकी उपाध्यक्ष उर्मिला थापा क्षेत्रीको स्वागत मन्तब्यबाट सुुरु भएको कार्यक्रमको सचांलन सचिव डि.वी थापाले गर्नुभएको थियो ।












