पुनहरि बेल्बासे ,भैरहवा-एक छाक शाकाहारी खानाको मूल्य कति पर्छ ? धेरैको जवाफ हुन्छ १ सय ५० देखि १ हजार सम्म । तर भैरहवामा भने २५ रुपैँयामा शाहाकारी खाना पाइने भएको छ ।पेशाले कन्स्ट्रक्सन इन्जिनियर रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा श्रमिक र निम्न आय भएका वर्गलाई लक्षित गरी बिहानको एक छाक शुद्ध शाकाहारी खाना २५ रुपैयाँमै उपलब्ध गराउन थालेका छन् । मायादेवी च्यारिटेबल फाउण्डेसनअन्तर्गत अन्नपूर्ण भोजनालयमार्फत आज भैरहवामा एक कार्यक्रमका बीच २५ रुपँयामा खाना पाउने भोजनालय उद्घाटन भएको छ ।
विशेश गरी अस्पताल, सरकारी स्कूल र धेरै मजदुरहरुले काम गर्ने स्थानहरुमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा शुरु गरेर खाना खुवाउने रौनियारले बताए । पहिलो चरणमा घुम्ति सेवाबाट हप्ताको १ दिन बाट सुरु गरेको यो अभियान छिट्टैनै दैनिक रुपमा सेवा प्रवाह गर्ने रौनियारले बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले समाजमा रहेका पिछडीएका मानिसलाई लक्षित गरेर अन्नपूर्ण भोजनालय खोली सामाजिक उत्तरदायित्व वहन गरेको बताउँदै भैरहवामा छिट्टैनै दैनिक रुपमा रु. २५ मा खाना खुवाउने व्यवस्था मिलाउने पर्ने बताए । प्रदेश नम्बर ५ ले सडक र मन्दिरमा बसेर भिख माग्ने अवस्था नआओस् भनी बुटवल, दाङ र नेपालगञ्जमा पुर्नमिलन कार्यक्रम शुरु गरि सकेको बताए ।












