खाद्य स्वच्छता दिवसमा सचेतना कार्यक्रम

प्रकाशित मिति:

बुटवल,१४ जेठ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ महिनालाई तेस्रो खाद्य स्वच्छता महिनाको रुपमा मनाइरहेको छ । विभागले मातहतका ४३ वटा कार्यालय मार्फत विभिन्न स्थानमा सचेतना र खाद्य सुरक्षाका कार्यक्रमहरु गरिरहेको छ ।

यसै सन्दर्भमा खाद्य प्रविधि गुण तथा नियन्त्रण कार्यालय भैरहवाले सोमबार देखि रुपन्देहीमा अभियानात्मक कार्यक्रम सुरु गरेको छ । सोमबार पहिलो दिन सरसफाइ तथा सचेतना कार्यक्रम गरेको कार्यालयले मंगलबार तिलोत्तमाको ड्राइभरटोलमा पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख हस्त बहादुर राईले कार्यालयले खाद्य तथा गुणस्तरका सम्बन्धमा गरेको बजार अनुगमन लगायतका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनले खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता विषयक जेठ १९ गते रुपन्देहीमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने बताए । त्यस्तै जेठ २४ गते काठमाण्डौंमा अभियानको समापन गरिने राईले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसीले खाद्य पदार्थ प्रत्यक्ष जीवनसंग जोडिएको विषय भएको बताए । उनले अखाद्य वस्तु पनि बजारमा रहेकोले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । खाद्य प्रविधि गुण तथा नियन्त्रण कार्यालय भैरहवाका खाद्य अनुसन्धान अधिकृत श्रवण कुमार ढुंगानाले खाद्य स्वच्छताको अभियानमा मिडियाको भुमिका महत्वपूर्ण रहेको चर्चा गरे ।