मर्चवार । गणतन्त्र दिवसका अवसर पारेर मर्चवारी गाउँपालिका, गाउँ कार्यपालिकाका कार्यालयले गणतन्त्रको महत्व बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा अर्थात् जनताले जितेको दिन ११ वर्ष पुगेर १२ वर्ष लागेको छ । यसै सन्दर्भ पारेर मर्चवारी गाउँपालिकाले पनि यसको महत्व बारे अन्र्तक्रिया कार्यक्रम समपन्न गरेको हो ।
कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका अध्यक्ष केशव नन्द बनियाले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन, मधेस विद्रोहले गर्दा राजतन्त्र फालिएको हो, नेपालको सबभन्दा ठूलो उपलब्धि भनेकै जरैदेखि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्नु रहेको बताए । उनले नेपालको गणतन्त्र ठीक बाटोमा अगाडि बढिरहेकाले फालिएका शक्ति पुनःस्थापित हुनसक्ने कुनै गुन्जायस नरहेको स्पष्ट पारे ।
यसै गरि सोही कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेत बहादुर खाती, वडा नम्बर १ का वडा अध्यक्ष मुकेश यादव, सुनिल कलवार लगायतले गणतन्त्रको जगमा उभिएर यसको संस्थागत विकास, यसको मूल्य र मान्यता र एकीकृत संस्थागत गर्न अझ एकत्रित हुनुपर्ने सुझाव दिए ।मर्चवारी गाउँपालिका अध्यक्ष केशव नन्द बनियाको अध्यक्षता तथा वास संयोजक लक्ष्मण उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।












