दीपमा उत्कृष्ट अभिभावक कार्यक्रम

प्रकाशित मिति:

बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले अभिभावकहरूको लागि दोस्रो चरणको अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयको कक्षा के.जी.मा अध्ययनरत विद्यार्थीहरुका करीव १ सय ४० जना अभिभावकहरूलाई कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालय, अभिभावक र शिक्षकको त्रिकोणात्मक भूमिका हुने भएकोले सोही अनुरुप विद्यालयले सहकार्य गरेर अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा उत्कृष्ट अभिभावक कला शीर्षकमा प्रशिक्षक दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो । प्रयोगात्मक रुपमा गरिएको प्रशिक्षण कार्यक्रममा बालबालिकाहरुलाई कसरी राम्रो बनाउन सकिन्छ र उनीहरुप्रतिको व्यवहार कस्तो हुनुपर्दछ भन्ने लगायतका विषयमा जानकारी गराइएको थियो । विद्यालयले गत वर्षदेखि सुरु गरेको असल अभिभावक अभियान यस वर्ष पनि जारी रहने र यस वर्ष दोस्रो तहको तालिम हुने विद्यालयका उपप्राचार्य ज्ञानु थापाले जानकारी दिनुभयो । कार्यक्रममा अभिभावकहरुले विभिन्न सुझावहरु राख्नुका साथै जिज्ञाशाहरु राखेका थिए । गत वर्ष विद्यालयले हरेक तहका अभिभावकहरूलाई आधारभूत तालिम दिएको थियो ।