रविपथमा निः शुल्क शुद्ध चिसो पिउने पानीको व्यवस्था

प्रकाशित मिति:

भैरहवा- भैरहवाको रविपथ निवासीको सक्रियतामा आज टोलमा निःशुल्क रुपमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । रविपथ भजन परिवारको सक्रियता र चन्द्र गोयनकाको आर्थिक सहयोगमा चिसो पिउने पानीको व्यवस्था गरिएको हो । प्रचण्ड गर्मीका बेला चिसो पानीले सितलता अनुभूति गराउनुका साथै धर्म पनि हुने आशा र विश्वासका साथ राखिएको हो ।

खाना केही समय नभए पनि बाँच्न सकिने तर पानी बिना बाँच्न कठिन हुने भएकोले सेवा नै धर्म हो भन्ने भावनाले चिसो पिउने पानीको व्यवस्था गरिएको प्रमुख अतिथी चन्द्र गोयनकाले बताए । सामाजिक क्षेत्रका सहयोग गर्नकोलागि योजना अनुसार आएमा आफूले सक्दो सहयोग गर्ने प्रमुख अतिथी गोयनकाले बताए ।

शुद्ध पिउने पानीको अभावमा धेरै रोगहरुले आक्रमण गर्ने भएकोले पानीको कारणले कोही रोगी हुन नपरोस् भन्ने उद्देश्यले निः शुल्क रुपमा पिउने पानीको व्यवस्था गरिएको विशिष्ट अतिथी तथा संरक्षक दिलिप भट्टराईले बताए । अहिले जारबाट चिसो पानीको व्यवस्था गरे पनि छिट्टैनै मेशिनबाट पानीको व्यवस्था गर्ने र जाडोमा निः शुल्क रुपमा चिया र कपिको व्यवस्था गर्ने भट्टराईले बताए । विगत ६ वर्ष अगाडि देखि हरेक एकादशीमा भजनकृत गर्ने र त्यसबाट उठेको रकम सामाजिक क्षेत्रमा लगानी गर्ने गरेको रविपथ भजन परिवारकी अध्यक्ष राधा भट्टराईले बताइन् ।

रविपथटोल बासीले आफ्नो टोल आफै बनाऔँ भन्ने उद्देश्यले हरेक हप्ता आफ्नो टोल सरसफाई कार्यक्रम गर्दै आएको र भजनकृत गर्ने काममा गर्दै अब गर्मीमा रविपथको बाटो हिड्दा चिसो पानी पिउनबाट कोही पनि बन्चित हुन नपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका कार्यकारी उपसचिव खगेन्द्र शर्माले बताए । उक्त कार्यक्रम सञ्चालन भजन परिवारकी सदस्य सन्ध्या पन्थीले गरेकी थिइन् ।