रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले जानकारी दिनुभयो ।

आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा बालबालिकालाई पौष्टिक आहार दिएको हो । पोषण आहारमा एक क्यारेट अण्डा, एक लिटर खानेतेल, आयोडिनयुक्त नुन, साबुन, सर्वोत्तमपिठो, बालभिटालगायत छन् । दुई वर्षभित्र बालबालिकाको झण्डै ८० प्रतिशत मानसिक विकास हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
पोषण आहार वितरण शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका लागि यसप्रकारको अभियान सुरु गरिएको बताउनुभयो । यो अभियानले बालबालिकाको नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको समेत विकास गराउने उहाँको विश्वास छ ।यस्तै उप–प्रमुख जागेश्वरी चौधरीले गर्भवती महिला र बालबालिकाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले नगरपालिकाले यो विषयलाई महत्व दिएको जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई तिलोत्तमा नगरपालिकाले थप प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको बताउँदै उहाँले अबका दिनमा पौष्टिक आहार वितरणलाई पनि निरन्तरता दिइने बताउनुभयो ।मूलतः विपन्न तथा मजदुरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर सीमानगरबाट पौष्टिक आहार वितरण अभियान शुरु गरिएको हो । अभियानलाई शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमार्फत सञ्चालन गरिने छ । वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष टंक टिवारी, स्वास्थ्य शाखाका गणेश गौतमलगायतले बोल्नुभएको थियो ।












