जातीय सद्भाव क्षेत्रीय एकता र समृद्व समाज निर्माणका लागि एकजुट हुनुपर्छ: प्रदेश प्रतिनिधी कार्की

प्रकाशित मिति:

कौरब खत्री- बाग्लुङ्ग /क्षेत्री महिला समाज गलकोट नगरपालिका १ दुदिलाभाटीको आयोजनामा तीज गीत तथा नृत्य प्रतियोगिता एवं दरखाने कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा सम्वोधन गदै क्षेत्री समाज गण्डकी प्रदेश प्रतिनिधी सरस्वती रेग्मी कार्कीले जातीय सदभाव, क्षेत्रीय एकता र समृद्व समाज निर्माणमा क्षत्री समुदाय एकजुट हुनुपर्ने बताइन । साथै उनले क्षेत्री बन्धुहरुको एकतालाई थप बलियो हुने र आपसी सद्भाव बढ्ने बताइन ।

कार्यक्रमले सम्पूर्ण क्षेत्री महिलाहरुलाई सामाजिक एकता, सद्भाव सहित समृद्व समाज निर्माणमा प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।कार्यक्रमको अवसरमा भएको तीज गीत तथा नृत्य प्रतियोगितामा ९ समुहको सहभागिता मध्यमा सरस्वती माध्यमिक विद्यालय दुदिलाभाटी प्रथम, जनसेवा आमा समुह काफलठुटा द्वितिय र सिर्जनशिल आमा समुह भाटी बजार तृतिय भएका छन विजेता समूहहरुलाई पुरस्कारले सम्मान गरिएको थियो ।सोही अवसरमा क्षेत्री समाज गण्डकी प्रदेशका सदस्य हर्क पाण्डे, क्षेत्री समाज गलकोट नगरपालिकाका वरिष्ठ उपाध्यक्ष छुम बहादुर थापा, गलकोट नगरपालिका वडा नं १ का वडाअध्यक्ष नेत्र बहादुर बुढाथोकी, क्षेत्री समाज गलकोट नगरपालिकाका संस्थापक सदस्य लक्ष्मी खडका, महिला जागरण केन्द्र दुदिलाभाटीका अध्यक्ष दुर्गा पुन, क्षेत्री महिला समाज गलकोटका सचिव माँया केसीले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै क्षेत्री समुदायबाट २०७४ को एसईई परीक्षामा सरसस्वती माध्यमिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने मिलन कुँवर, र २०७५ मा सर्वोत्कृष्ट अंक ल्याउने सुदिप खत्रीलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।कार्यक्रममा संविधान उल्लेख महिला हिंसा, हक, अधिकार, समृद्व समाज निर्माणमा महिलाको भुमिका जस्ता सन्देश भाव बोकेका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा सहभागि सबैलाई सामुहिक दर खुवाईएको थियो । कार्यक्रम क्षत्री महिला समाज गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटीका अध्यक्ष धना खत्रीको अध्यक्षता तथा क्षत्री समाज गलकोट नगर समितिका उपाध्यक्ष सुमित्रा कार्कीको स्वागतसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समितिका सचिव कमला खड्काले गरेकी थिइन ।