लालचन्द्र संरक्षण पुरस्कार सिस्नेरी सामुदायिक वनलाई

प्रकाशित मिति:

पाल्पा –सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाको १६ औं वार्षिक साधारण सभा शुक्रवार पाल्पाको दोभानमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका सदस्य माननीय वसन्त घर्तिमगरले वन,वातावरण र जैविक विविधता संरक्षणको अभियानमा विगत १८ वर्षदेखि सामुदायिक वन समन्वय समितिले खेलेको भूमिका र त्यसको प्रभावकारिता उल्लेखनीय रहेको बताउँदै समृद्धिका लागि वन र सबैका लागि वनको नारालाई जनमुखी बनाउनु पर्नेमा जोड दिए ।कार्यक्रमका विशिष्ट अतिथि डिभिजन वन कार्यालय पाल्पाका डिभिजनल वन अधिकृत डा।मोहन पौडेलले सामुदायिक वन गरिवी निवारणको माध्यम हुन सक्छ तर साध्य भने होइन ,त्यसैले सामुदायिक वनको मुख्य काम भनेकै वन,वातावरण र जैविक विविधता संरक्षण र सम्वद्र्धन रहेको बताउँदै वृक्षरोपणभन्दा बढी रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रमका अर्का विशिष्ट अतिथि तराई भू–परिधि कार्यक्रमका सहप्रवन्धक गौतम पौड्यालले सामुदायिक वन समन्वय समितिले आफ्ना गतिविधिहरुलाई समुदायमुखी बनाउँदै सम्बन्धित सरोकारवाला पक्षहरुको खोजी र सहकार्यमा जोड दिनुपर्ने बताए । तिनाउ गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाले सामुदायिक वन समन्वय समितिले आफ्नो पालिकासँग सहकार्य गर्दै अघि बढेको बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ,नेकपाका नेता चक्रव्यूह थापा,नेपाली काङ्ग्रेसका नेता लालबहादुर थापाले समन्वय समितिले सामुदायिक वनको हक अधिकार,वन,वातावरण र जैविक विविधता संरक्षणमा अझ्ै ठूलो भूमिका खेल्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा समन्वय समितिका अध्यक्ष अमर प्रधानले पेस गरेको वार्षिक योजना ,महासचिव पदमलाल शाक्यले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रविन्द्र पौडेलले पेश गरेको लेखापरीक्षण प्रगति प्रतिवेदन साधारण सभाले पास गरेको छ ।

सोही कार्यक्रममा समन्वय समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले आफ्ना बाबा स्व।लालबहादुर र आमा स्व।चन्द्र श्री गुरुङको स्मृतिमा स्थापना गरेको लालचन्द्र संरक्षण पुरस्कार पहिलो पटक तिनाउमा रहेको सिस्नेरी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरेको छ । सोही पुरस्कार छनौट समितिका संयोजक तिनाउ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्र भाटले २०५३ सालदेखि वन,वातावरण र जैविक विविधता संरक्षणमा क्रियाशील सिस्नेरी सामुदायिक वनले गरेको उल्लेखनीय कार्यको मूल्यांकन गरी सो पुरस्कार प्रदान गरिएको बताए ।नगद ६ हजार एक सय रुपैयाँ र प्रमाण पत्रसहित उक्त संरक्षण पुरस्कार सिस्नेरी सामुदायिक वनलाई पहिलो पटक प्रदान गरिएको हो ।